Breaking News
‘विद्यालय खाजामा लगानी बढाऔं’

‘विद्यालय खाजामा लगानी बढाऔं’

काठमाडौँ, फागुन १० गते । बालबालिकाको सिकाइका निम्ति आधारभूत विषय पोषणयुक्त खाजा भएकाले विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाले माग गरेका छन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल, क्यानालको सहयोगमा काठमाडौँमा आयोजना गरिएको स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श कार्यक्रममा सरोकारवालाले त्यस्तो बताएका हुन् । 

पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण तयार गर्ने बताउँदै उहाँहरूले विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक रहेको बताउनुभयो । एक अध्ययनअनुसार विद्यालय खाजामा प्रत्येक एक डलरको लगानीले ५ डलरभन्दा बढी प्रतिफल प्राप्त भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिका निम्ति बलियो जनशक्ति र स्वास्थ मानवपुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने कुरा सरोकारवालाले बताउनुभयो । 

नेपालको संविधानको धारा २६ मा खाद्य सुरक्षा तथा सम्प्रभुत्तालाई नागरिकको मौलिक हकको रूपमा व्यवस्था, धारा ५१ को राज्यका नीतिमा कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुसार जलवायु र कृषिक्षेत्र लगानी अभिवृद्धि गर्दै खाद्य सम्प्रभुताको मान्यताअनुसार जलवायु र मानव अनुकुलको खाद्यान्न उत्पादनमा प्रोत्साहन गरी खाद्यान्नको दिगो उत्पादन, आपूर्ति सञ्चय, सुरक्षा र प्रभावकारी गर्ने नीति रहेको छ । 

बालअधिकारको संरक्षण, प्रवर्धन, शिक्षा, पोषण स्वास्थ्य अधिकारको सन्दर्भमा धारा ३९ ले समेत प्रस्ट बोलेको छ, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता समेत व्यक्त गरेको सन्दर्भमा सोह्रौँ आवधिक योजना पनि मानव पुँजी निर्माणका लागि पोषणमा सुधार ल्याउने र सिकाइ उपलब्धिमा सुधार ल्याउने नीतिगत व्यवस्था रहेको भन्दै सरोकारवालाले पोषणमैत्री, बालमैत्रीजस्ता अभियानलाई अघि बढाइएको बताउनुभयो । 

शिक्षा मन्त्रालयका सचिव डा. दीपक काफ्ले विद्यालय दिवा खाजा प्रारूप, २०८१ लाई कार्यान्वयन सन्दर्भमा प्राप्त सुझावलाई सम्पत्तिको रूपमा ग्रहण गर्दै गुणस्तरीय शिक्षा, प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षालाई गुणस्तरीय बनाउन, बालबालिकाको दिवा खाजा प्रवर्धनमा सबै सरोकारवालाको भूमिकालाई जोड दिँदै अन्तर मन्त्रालय, निकाय परिवार, अभिभावक सङ्घ संस्था सबैको दायित्वसहित बालबालिकामा लगानी बढाउनेतर्फ अघि बढ्न प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका नीलकण्ठ ढकालले विद्यालयमा खाजा कार्यक्रम विभिन्न विषयसँग अन्तरसम्बन्धित रहेको बताउनुभयो । शिक्षा मन्त्रालयका हरिप्रसाद अर्यालले विद्यालय तहमा पठनपाठन गरिरहेका बालबालिकालाई स्थानीय कृषिमा आधारित तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजाको व्यवस्थापनका लागि सहज गर्ने उद्देश्यले गत असोज ८ गतेको मन्त्री स्तरीय निर्णयअनुसार शिक्षा मन्त्रालयले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृति भएको बताउनुभयो । 

कार्यक्रममा वर्ल्ड भिजन इन्टरनेसनलकी उमा मगरले वर्ल्ड भिजन इन्टरनेसनलले बालमैत्री, पोषणमैत्री, बाल संरक्षण प्रवर्धन र इनअफ अभियान सञ्चालन गरिरहेको बताउनुभयो । 

गाउँपालिका महासङ्घका सदस्य भूपाल पोखरेल र जिल्ला समन्वय समिति महासङ्घका उपमहासचिव दीपक गौतम, नगरपालिका सङ्घकी प्रतिनिधि सुनिता सुबेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकाल लगायतले दिवा खाजा प्रवर्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

बालमैत्री शासन, पोषणमैत्री शासन र विद्यालय खाजा कार्यक्रमको बारेमा अशोक खनालले बताउँदै बालबालिकाको पोषणमा लगानी बढाउन अपिल गर्नुभयो।

कार्यक्रममा दिवा खाजाको पृष्ठभूमिको बारेमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका हरिप्रसाद अर्यालले प्रस्तुतीकरण गर्दै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, विद्यालय शिक्षा क्षेत्र योजना, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप लगायत नीतिगत व्यवस्था अनुरूप सञ्चालन भइरहेको बताउनुभयो ।


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.