 
                    अछाम, माघ ३० गते । अछामको विकट क्षेत्र मानिने रामारोशन गाउँपालिकाका विद्यालयको शिक्षामा सुधार ल्याउन विशेष अभियान थालनी गरिएको छ । रामारोशन शैक्षिक रूपान्तरण अभियान नाम दिइएको सो अभियानमा गाउँपालिकाका सबै कार्यपालिका सदस्य, सम्पूर्ण राजनीतिक दल र रामारोशनवासी जुटेका छन् । रामारोशन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा सञ्चालनमा रहेको जागरण अभियानले दोस्रो चरण पूरा गरेको छ ।
शैक्षिक रूपान्तरण अभियानको पहिलो चरणमा सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग विभिन्न विषयमा छलफल गरेर गुणस्तर अभिवृद्धिका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको थियो । सो सम्झौतामा हरेक शिक्षकले एक दिनमा हरेक विद्यार्थीलाई तीन वटा प्रश्नको उत्तर अनिवार्य सिकाउने उल्लेख छ । अभियानको दोस्रो चरणमा हरेक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबिच छलफल गरिएको छ । दोस्रो चरणको जागरण अभियान पूरा भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार अब तेस्रो चरणमा सार्थक अभियान सञ्चालन हुँदै छ । सो अभियानले विद्यालयको सघन अनुगमन गर्ने छ । अनुगमनका आधारमा शिक्षक र विद्यार्थीलाई पुरस्कार र दण्डसमेत हुने बताइएको छ । रामारोशन गाउँपालिकाको शिक्षाको गुणस्तर उठाउन थालिएको अभियानले आमअभिभावकमा आशाको सञ्चार गराएको छ ।
गाउँपालिका–५, नेटाकोटमा रहेको नीलकण्ठ माध्यमिक विद्यालयको प्राङ्गणमा भेटिएका सयौँ अभिभावकले अभियानले शिक्षामा सुधार आउनेमा आफूहरू विश्वस्त रहेको बताए । गाउँपालिकाले सुरु गरेको अभियानले पालिकाभित्रका सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासदेखि परीक्षा प्रणालीको सुधारसम्मका योजना बनाएको छ ।
विद्यालयमा रहेका बालबालिकालाई पाठ्यक्रममा रहेका विषयवस्तु अनिवार्य जान्न सक्ने बनाउने गरेर अभियान अगाडि बढेको गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको आगामी १० वर्षमा रामारोशनका विद्यार्थी सबै क्षेत्रमा अब्बल बनाउने सपनाका साथ अभियान चलिरहेको हो । यो अभियानको अवधारणा पनि उहाँकै हो ।
कालीकोटको पचालझरना गाउँपालिकामा काम गर्दा भण्डारीले सुरु गरेको अभियान उहाँ सरुवा भएर रामारोशन आउँदासमेत रोकिएन । भण्डारीलाई रामारोशन गाउँपालिकाका अध्यक्ष साउदले आफ्नो पालिकामा सरुवा आउन आग्रह गर्दा भण्डारीले भन्नुभएको थियो, “मैले रामारोशनमा शैक्षिक रूपान्तरण अभियान सञ्चालन गर्न पाउँछु भने मात्र आउँछु ।” भण्डारीको अभियानलाई प्रमुखताका साथ अगाडि बढाउने गाउँपालिकाका अध्यक्ष साउदले प्रतिबद्धता जनाएपछि मात्र भण्डारी रामारोशन आउनुभएको थियो ।
भण्डारी रामारोशन गाउँपालिकाका स्थानीयसमेत हुन् । भण्डारीको योजना अनुसार हाल अभियान चलिरहेको छ । अभियानले विद्यार्थीलाई अनिवार्य पढ्नुपर्ने बनाएको छ । शिक्षकले अनिवार्य पढाउनैपर्ने र विद्यार्थीलाई जान्ने बनाउनैपर्ने बाध्यकारी नीति लिइएको छ ।
पालिकाले ‘हरेक दिन तीन–तीन’ नीति लिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । उहाँका अनुसार हरेक दिन हरेक शिक्षकले हरेक विद्यार्थीलाई तीन प्रश्नको उत्तर सिकाउनु पर्छ । विद्यार्थीले हरेक विषयका तीन प्रश्नको उत्तर जान्नैपर्ने नीति कडाइसाथ लागु गरिएको हो । तीन प्रश्नको उत्तर नजान्ने विद्यार्थीलाई अनिवार्य घोक्न लागाउने गरिएको छ । तीन प्रश्नको उत्तर सिकाउन नसक्ने शिक्षकलाई कारबाही गर्ने गाउँपालिकाले जनाएको छ ।
अभियान अन्तर्गत परीक्षा प्रणालीमा व्यापक सुधार हुने छ । परीक्षा हलमा विद्यार्थीले कुनै पनि चिट लिएर जान पाउने छैनन् । मोबाइल जस्ता उपकरणसमेत परीक्षा हलमा प्रतिबन्ध छ । परीक्षाको पालिकाले प्रत्यक्ष अनुगमन गर्ने र परीक्षाको उत्तरपुस्तिका पालिकाले नै जाँच गर्ने जनाइएको छ ।
 Ram Chandra Ghimire
                            Ram Chandra Ghimire
                        2025 © Education Manch. All Rights Reserved.