Breaking News
केयु : तीन सदस्य तीनतिर

केयु : तीन सदस्य तीनतिर

काठमाडौँ, फागुन १५ गते । काठमाडौँ विश्वविद्यालय (केयु) मा उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सम्भावित व्यक्तिको नाम प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष बेलैमा सिफारिस गर्न नसक्दा यस्तो अवस्था आएको हो । 

मुलुकमा सञ्चालित विश्वविद्यालयमध्ये तुलनात्मक रूपमा अब्बल मानिएको केयुमा पछिल्लो समय उपकुलपति छनोट कार्य गिजोलिँदा नकारात्मक टिप्पणी हुन थालेको छ । केयु गत माघ ६ गतेदेखि उपकुलपतिविहीन छ । तत्कालीन उपकुलपति प्राडा भोला थापाको चारबर्से कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले रजिस्ट्रार प्राडा अच्युत वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको छ । 

तर थापाको कार्यकाल सकिनुअघि नै सिफारिस समिति गठन गरिएको भए पनि हालसम्म नयाँ उपकुलपति नियुक्त हुन सकेको छैन । सन् १९९१ देखि २०१२ सम्म निरन्तर २१ वर्ष उपकुलपतिको कार्यभार समाल्नुभएका प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठन भएको समितिलाई यतिखेर उपकुलपतिमा कसको नाम सिफारिस गर्ने भन्ने निकै सकस भएको छ ।

समितिमा सरकारका पूर्वसचिव जनार्दन नेपाल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. अर्जुन कार्की सदस्य रहनुभएको छ । समितिले मापदण्ड बनाएर गत पुस १८ गते नै उपकुलपतिका लागि आवेदन आह्वान गरेको थियो तर त्यतिखेर आवेदकका लागि तोकिएको मापदण्ड अन्यायपूर्ण रहेको दाबीसहित केही प्राध्यापकले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएपछि दोहोर्‍याएर आवेदन आह्वान गरिएको थियो । 

दुई पटकको सूचनाबाट २० जनाको आवेदन स्वीकृत भएको थियो । ती आवेदकमध्येबाट समितिले फेरि १० जनाको नाम छनोट गरेर छोटो सूची प्रकाशन गरेको थियो । छोटो सूचीमा परेकाहरूका लागि फागुन २ गते कार्ययोजना तथा प्रस्तुति गर्न लगाइएको थियो भने फागुन ३ गते अन्तर्वार्तासमेत सञ्चालन भइसकेको छ । 

सबै प्रक्रिया पूरा भएको ११ दिन बितिसक्दा पनि उपकुलपति नियुक्ति हुन सकेको छैन । सम्भावित व्यक्तिको नाम कुलपतिसमक्ष सिफारिस नहुँदा यो विषय थप गिजोलिँदै गएको छ । यसले समग्रमा अब्बल शैक्षिक केन्द्र भनेर विश्वविद्यालयले विगतमा बनाएको पहिचानमाथि नै धक्का पुर्‍याएको छ । 

अहिले उपकुलपतिका लागि निवर्तमान उपकुलपति थापा, रजिस्ट्रार वाग्लेसहित अन्य प्राध्यापक पनि दौडमा हुनुहुन्छ तर समयमै नाम सिफारिस गर्न थापा र वाग्लेमध्ये कसलाई पहिलो नम्बरमा सिफारिस गर्ने भन्ने विषयले अड्काएको विश्वविद्यालय स्रोतले जनाएको छ । छनोट समितिले अन्तर्वार्ताबाट छानिएका तीन जनाको नाम कुलपतिसमक्ष पेस गर्ने र कुलपतिले तीमध्येबाट एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

स्रोतका अनुसार छनोट समितिका संयोजक शर्मा निवर्तमान उपकुलपति थापालाई नै फेरि उपकुलपति बनाउन चाहनुहुन्छ भने समितिका अर्का सदस्य नेपाल वाग्लेलाई उपकुलपति बनाउने पक्षमा हुनुहुन्छ । कार्की भने मेरिटका आधारमा योग्य व्यक्तिलाई उपकुलपति बनाउने पक्षमा हुनुहुन्छ । 

समितिका संयोजक शर्माले भने योग्य व्यक्तिलाई नै उपकुलपतिका लागि सिफारिस गरिने बताउँदै आउनुभएको छ तर समितिमा रहेका अन्य दुई जना र आफूबिचमा कुरा नमिल्दा समस्या आएको उहाँले बताउनुभयो । 

तर उहाँले पूर्वउपकुलपति भएका व्यक्तिलाई नै अहिले पनि उपकुलपति बनाउनुपर्ने अडानमा आफू रहेको स्पष्ट पार्नुभयो । बिबिसी रेडियोको नेपाली सेवासँगको अन्तर्वार्तामा शर्माले भन्नुभयो, “म संस्थापक भएकाले विश्वविद्यालयप्रति माया लागेर स्रोत जुटाउन सक्ने, नेतृत्व गर्न सक्ने व्यक्लिाई आफूले छान्न खोजेको हुँ । विश्वविद्यालय भनेको अन्य संस्था जस्तो होइन ।” कहिलेसम्म सिफारिस गर्नुहुन्छ त भन्ने प्रश्नमा शर्माले भन्नुभयो, “अब नियुक्त हुने उपकुलपतिले संस्थाको हितमा काम गर्नु पर्छ भन्ने मेरो अडान हो । मेरो अडानमा दुई जना सदस्यहरू सहमत नभए नोट अफ डिसेन्ट लेख्ने तर निर्णय चाहिँ छिट्टै गरेर कुलपतिसमक्ष बुझाउने पक्षमा म रहेको छु ।” 

आठ उम्मेदवारले गुहारे प्रधानमन्त्री

छनोट समितिले उपकुलपतिको नाम सिफारिस गर्न नसकेपछि उपकुलपतिकै प्रतिस्पर्धी आठ जनाले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई गुहारेका छन् । 

उनीहरूले कुलपतिलाई पत्र लेख्दै कार्यविधि अनुसार नाम सिफारिसका लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन् । प्रधानमन्त्रीलाई पठाइएको पत्रमा उपकुलपतिका उम्मेदवार बालचन्द्र लुइँटेल, हरिप्रसाद न्यौपाने, कन्हैया झा, विभूति रञ्जन झा, वेदमणि दाहाल, श्यामनारायण लाभ, बिमप्रसाद श्रेष्ठ, धीरज गिरीको हस्ताक्षर रहेको छ । 

उपकुलपतिकै दौडमा रहनुभएका निवर्तमान उपकुलपति थापा र रजिस्ट्रार वाग्लेको भने हस्ताक्षर छैन ।

डिन र एसोसिएट डिनको ध्यानाकर्षण

काठमाडौँ विश्वविद्यालयको सात वटा स्कुलका डिन र एसोसिएट डिनले उपकुलपतिको नाम मेरिटका आधारमा सिफारिस गर्न छनोट समितिलाई आग्रह गरेका छन् । बुधबार डिन र एसोसिएट डिनसहित १३ जनाले संयुक्त वक्तव्य निकालेर कार्यविधि अनुसार नाम सिफारिस गर्न आग्रह गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “तीन जनाको नाम समयमै सिफारिस गरी तीमध्येबाट एक जना उपकुलपतिका रूपमा विश्वविद्यालयले छिट्टै पाउने आशा र भरोसामा छौं तर छनोट प्रक्रियालाई लिएर आइरहेका टिप्पणीले हाम्रो ध्यानाकर्षण भएको छ ।”

समितिले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र छिटो सिफारिस हुनेमा आफूहरू आशावादी रहेको पनि वक्तव्यमार्फत बताइएको छ । 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.