अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई नेपाली विद्यार्थीले कठोर करुणाको रुपमा लिएर आफूलाई पढाइ केन्द्रित गर्न सके भने भोलिका दिनमा सफलता अवश्य पाउँनेछन् ।
विषय प्रवेश गर्नुअघि एउटा सकारात्मक घटना प्रस्तुत गर्न चाहन्छु । सन् २००९ तिर जब म अमेरिका प्रवेश गरेँ, त्यतिबेला मेरो सम्पर्क व्यक्तिहरू नै विद्यार्थी थिए । त्यसमध्येका केही साथीबाट मैले धेरै सकारात्मक कुरा सिकेँ र तिनकै प्रेरणाबाट म पुनः विश्वविद्यालय प्रवेश गरेको थिएँ ।
तिनैमध्येका एकजना विद्यार्थी थिए, ठूलो आत्मबल बोकेर अमेरिका आएका । उनको उद्देश्य कमाउनभन्दा पनि पढाइमै केन्द्रित थियो । र, पनि उनले आफ्नो बसाइ र पढाइ खर्चको व्यवस्थापन गरेकै थिए ।
उनले अरु सरह नेपालबाट पैसा मगाउन सक्ने अवस्था छैन भन्ने राम्ररी बुझेका थिए । त्यसैले यस बिरानो भूमिमा नेपालभन्दा पनि प्रवासमा रहेका उनका नातेदारको सहयोगी मन र आड नै उनको लक्ष्यपूर्तिको आधार बनेको थियो ।
आफन्तको सहयोगको त्यही त्यान्द्रोमा टेकेर उच्च मनोबल र मिहिनेतबाटै उनी पढाइमा ४ जीपीए ल्याउनुका साथै कलेजमा शिक्षकका प्रिय एवं मिहिनेती विद्यार्थी बन्न सफल भए । नेपालमा उत्कृष्ट पढाइ नभएका उनले प्रवासको जीवनबाट धेरै सिके ।
साथीहरुले किन पढाइलाई मात्र प्राथमिकता दिन्छौ, कलेज बाहिर पनि काम गर न भन्थे । तर उनले जीवनभर काम गर्ने कि ढुक्कसँग पढेर जीवन सहज जिउने भन्ने बुझिसकेका थिए । त्यसैले कहिले पनि साथीको लहलहैमा लागेनन् र कलेज बाहिरको काम पनि गरेनन् । नियमबमोजिम काम गर्न पाउने समयमा कलेज भित्रको काम गर्दै पढाइलाई नै जीवन बनाए ।
बरु यस समयमा उनले पार्टी र रमाइलो गर्न छोडे । नयाँ-नयाँ लुगा फेर्न छोडे । अमेरिकी शैलीको मनोरञ्जन लिन, शहर घुम्न, समुद्री तटमा गएर रमाउन, सामाजिक सञ्जालमा छाउन छोडे । नचाहिँदा साथी बनाउन छोडे । चट्टानजस्तै दृढताले कलेजभित्रै रमाउँदै पढाइमै स्थापित भए । जसको परिणामस्वरुप दोस्रो वर्षदेखि नै कलेजमा छात्रवृत्ति पाउन थाले भने शिक्षकको संगतबाट कलेज भित्रै काम पाउन थाले ।
मिहिनेतले नै उनले ब्याचलर (अन्डरग्र्याजुएट) मा राम्रो अंक ल्याई पास मात्र गरेनन्, शिक्षकसँगको संगतले राम्रो प्रोफाइल तयार गर्न सफल भए । जसबाट उनलाई भोलि इन्टर्नसिपको सहजै अफर आउन सक्ने देखिन्थ्य्यो । तर उनले पढाइ लगत्तै ग्र्याजुएट रेकर्ड एक्जामिनेसन (जीआरई) मा समेत राम्रो अंक ल्याई एकै पटक मास्टर्स र पीएचडीको छात्रवृत्ति पाए । यसपछि उनले जीवनमा कहिले पछाडि फर्कनुपरेन । पढाइ सकिनासाथ राम्रो जागिर पाएका उनी हाल सपरिवार आनन्दित देखिन्छन् ।
यो एकजना मित्रको सत्यतथ्य घटना हो । तर मैले कयौं यस्ता मिहिनेती नेपाली भेटेको छु, जसले अमेरिकी आकाशमा उचाइ छोइरहेका छन् ।
भुल्न नहुने कुरा, नेपालबाट आउँदा सबै विद्यार्थी पढ्नै भनेर आएका हुन्छन् । बाबा-आमाले पनि पढाइका लागि लगानी गर्ने कबुल गरेकै हुन् । कलेजभित्र २० घन्टाभन्दा बढी काम गर्न मिल्दैन भन्ने अमेरिकाकी नियम-कानुन पनि स्वीकार गरेरै आएका हुन् ।
हाम्रो परिवेश गर्नुपर्ने र हुनुपर्ने भन्दा केही फरक भएको अवस्था छ । पढाइमा अब्बलता देखाउनुपर्नेमा अन्तै ध्यान जाँदा पढाइ मात्र चौपट होइन, मानसिक रुपमा बिछिप्त भएको अवस्था पनि देख्न सकिन्छ । जसलाई नेपाली समाजको पहलमा फिर्ता स्वदेश पठाएको पनि देखिन्छ । केही नवआगन्तुक विद्यार्थी पुराना स्थापित भइसकेकाहरुको नराम्रो संगतमा लागेर बिग्रेका पनि छन् । कोही रेष्टुरेन्टका महँगा खाना मात्र रुचाउने र नचाँहिदो फजुल खर्चमा रमाउने पनि छन् ।
कुबाटो समाउनुको कमजोरी चेतनाको स्तरमा नै देखिन्छ । नेपालबाट प्रवासको यात्रा तय गर्दा कलिला नानीहरुलाई नयाँ परवेशमा गर्नुपर्ने दायित्व, पढाइको महत्व, मितव्ययिता र आफ्नो काम आफैं गर्ने आदि ज्ञान सिकेर आउनुभन्दा छिटो यात्रा तय गर्ने र छिटो कमाएर पठाउने अनि पुग्न पाएको छैन हरेक दिन ऋण र ब्याजको कुरा गर्ने अविभावक प्रशस्तै भेटिन्छन् । त्यही मनस्थिति बोकेका भाइबहिनीले पनि पढाइलाई सिरानीमा थन्क्याउँदै कामलाई प्राथमिकता दिएको पाइन्छ । परिणाम- न पढाइ, न त राम्रो काम धन्दा नै हुन पुग्छ ।
प्रवासीका यी भोगाइलाई अहिलेको डोनाल्ड ट्रम्प सरकारले नजिकैबाट बुझेको देखिन्छ । यसैलाई मध्यनजर गरेर हालका दिनमा छापा मार्ने र कानुनभन्दा बाहिर रहेर काम गर्ने प्रवासीलाई फिर्ता पठाउने रणनीति लिएको देखिन्छ ।
झट्ट हेर्दा ट्रम्पको कदमले तत्काल विद्यार्थीहरुलाई तनाव दिएको देखिन्छ । कठोरता प्रकट गरेको देखिन्छ । तर कहिलेकाहीँ कठोरता पनि एक किसिमको करुणाको स्वरुपमा परिणत हुनसक्छ । गुरुले भनेको नमान्ने, कानुनको खिलाफ जाने वा कर्मबाट बिमुख हुनेलाई कर्ममा फर्काउने काम कठोर करुणा हो । यसमा नियत भने सफा हुनुपर्छ ।
ट्रम्पको आदेशलाई नेपाली विद्यार्थीले कठोर करुणाको रुपमा लिएर आफूलाई पढाइ केन्द्रित गर्न सके भने भोलिका दिनमा सफलता अवश्य पाउँनेछन् । सुन्दर भोलिलाई उज्यालो देखाउने काम गर्नेछ ।
म विद्यार्थी हुँ भने मेरो कर्म पढ्ने हो भन्ने कुरा ट्रम्पको आदेशको आसय हो । त्यसो हो भने अब पढ्ने । नियमको परिधिभित्र रहेर काम गर्ने । छात्रवृत्तिका ढोकाहरु पहिल्याउने ।
यी कुराहरु भन्न सजिलो भए पनि लत र बानी बिग्रिसकेको दिमागलाई ठेगानमा पुनः लैजान भने गाह्रो हुन्छ । तर पनि अमेरिका त्यस्तो अवसरको देश हो, बदमासी नगर्ने र मिहिनेत गर्ने हो भने धेरै कुरा पाउन सकिन्छ ।
उदाहरणका लागि, कुनैकुनै राज्यमा अमेरिकी र विदेशी विद्यार्थीलाई कलेज फी समान लाग्छ । हामीले पनि केही समय यी राज्यका कलेजमा पढ्न सक्छौं । कम्युनिटी कलेजहरु निकै सस्ता हुन्छन् । ट्रान्सफर गर्न मिल्ने जति कोर्स कम्युनिटी कलेजमा पढ्न सक्छौं ।
कलेजमा शिक्षकहरुसँग राम्रो सम्बन्ध बनाउने, छात्रवृत्तिका लागि निवेदन दिने, कक्षामा नियमित उपस्थित हुने, होमवर्क, परीक्षा नछुटाउने, शिक्षकसँग अनुसन्धान वा अन्य काममा सहभागी बन्ने इच्छा जाहेर गर्ने, आफ्नो पढाइबाटै अब्बलता देखाउने, राम्रो साथी सर्कल बनाउने, मिलेर सामूहिक अनुसन्धान गर्ने र धेरैभन्दा धेरै इन्टर्नसिपमा आवेदन भर्ने, नढाँट्ने, फजुल खर्च केही नगर्ने, चार वर्ष नेपालको ऋण नसम्झने र बाआमालाई पनि त्यही भन्ने । यी अमेरिकामा पढ्ने नेपाली विद्यार्थीका सफलताका सूत्र हुन् ।
सही मार्गमा हिँडेकालाई पनि कहिलेकाहीँ संगत र कामको क्रममा अप्ठ्यारो पर्न सक्छ । यदि कहीँ कतै ठेस लागिहालेछ भने पनि उठेर सत्कर्मकै बाटोमा हिँड्ने प्रयास जारी राख्नुपर्छ ।
नेपाली विद्यार्थीले कतै दु:ख पर्यो भने स्थानीय नेपाली समुदायका मानिसको नियमित सम्पर्कमा रहिरहनुपर्छ । कलेजमा रहेका नेपालीको संगठनमा सहभागिता जनाउनुपर्छ । यदि शारीरिक, मानसिक रुपमा वा पढाइमा समस्या पर्यो भने कलेजको शैक्षिक परामर्शदाता, मनोसामाजिक काउन्सेलर, नेपाली समुदाय, राम्रा साथीहरु, आफन्तजनलाई खबर गर्नुपर्छ ।
यसका साथै नियमसंगत पाउने २० घन्टा क्याम्पस भित्रको कामभन्दा बढी गर्ने अनुमति नभएकोले लहलहैमा नफस्नुहोला । अन्धाधुन्ध सवारी नचलाउनुहोला । मादक पदार्थ, लागुऔषधबाट टाढै रहनुहोला । यसका अलावा व्यावहारिक कामको अनुभव लिन कलेजले दिने अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपीटी) नछोड्नुहोला, जुन पछि जागिरे जीवनका लागि पनि काम लाग्न सक्छ ।
अन्त्यमा, अमेरिका पढ्न आउने नेपाली विद्यार्थीको संख्या बढ्दो छ । त्यसमा पनि ब्याचलर कोर्स पढ्न आउनेहरुको संख्या झनै बढी छ ।
सन् २०२३-२०२४ मा करिब साढे २४ हजार र सन् २०२०-२०२१ मा करिब २३ हजार ९ सयको हाराहारीमा विद्यार्थीले अमेरिकाको भिसा लिएको तथ्याङ्कबाट देखिन्छ । यसले विगत केही वर्षदेखि प्रतिवर्ष करिब ८-१० हजारको हाराहारीमा नेपाली विद्यार्थी अमेरिका आइरहेको देखाउँछ ।
मेरो अनुरोध छ, सकभर ब्याचलर तहमा पढ्न छोराछोरी नपठाऔं । जो पढ्न आइसक्नुभएको छ, त्यस विषयमा त कथा नै पस्किसकेँ । यदि, बेलैमा सुध्रनुभएन भने तपाईं पनि ‘टीपीएस’को सुविधा पाउँदासमेत आफ्नो करिअर बनाउन नसक्नेमा दर्ज हुनुहुनेछ ।
यसैले ट्रम्पको आदेशलाई कठोर करुणाको रुपमा लिई भविष्य बनाउने संकल्पमा लाग्नुहोला । आजलाई जित्नुभयो भने भोलि तपाईंको हुनेछ । त्यो नेपालीको गर्विलो भोलि हुनेछ ।
(हाल टेक्सास, अमेरिका ।)
2025 © Education Manch. All Rights Reserved.