Breaking News
जलजलाका सामुदायिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन

जलजलाका सामुदायिक विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन

पर्वत, माघ २२ गते । जलजला गाउँपालिकाका विद्यालयहरूले स्मार्ट बोर्डबाट पठनपाठन गराउन थालेका छन् । सामुदायिक विद्यालयलाई प्रविधि मैत्री बनाउन सोमबार जलजला गाउँपालिका वडा नम्बर ९ नाग्लिवाङमा अवस्थित जनकल्याण माध्यमिक विद्यालयले ४ वटा स्मार्ट बोर्ड जडान गरी पठनपाठन थालेको हो ।

नाग्लिवाङमा जन्मिएर हाल बेल्जियममा रहेका झलक केसीको पहलमा बेल्जिक संस्था साल्भाडोर र विकास नेपाल नामक संस्थाको सहयोगमा आठ लाख लागतमा स्मार्ट बोर्ड उपलब्ध गराइएको थियो । यूरोपियन मुलुक विद्यालयहरुमा स्मार्ट बोर्ड मार्फत अध्यापन हुँदै आएको र आफूले कखरा सिकेको विद्याललाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्मार्ट बोर्ड जडान गरिएको केसीले बताउनुभयो । उहाँले आगामी दुई वर्षभित्र अन्य कक्षाकोठामा स्मार्ट बोर्ड जडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘‘सामुदायिक विद्यालयहरू प्राविधिमैत्री हुन जरुरी छ ।,’’ केसीले भन्नुभयो, ‘‘यसका लागि सबैको पहल आवश्यक छ ।’’

स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । शिक्षकलाई शिक्षण गर्न तथा विद्यार्थीलाई बुझ्न स्मार्ट बोर्ड निकै उपभोगी रहेको रेग्मीले बताउनुभयो ।

‘‘स्मार्टबोर्ड जडानपछि हामीलाई पढाउन र कुरा बुझाउन निकै सहज भएको छ । विद्यार्थीले पनि शिक्षण सिकाइ क्रियाकलापमा रुचि देखाएका छन् ।,’’ उहाँले भन्नुभयो, “स्मार्टबोर्डले गर्दा कुनै कक्षामा शिक्षक नभएको अवस्थामा पनि विद्यार्थीले पढ्न र अभ्यास गर्न पाउने वातावरण बनेको छ ।”

स्मार्ट बोर्डबाट लेखेका विषयवस्तु सेभ गर्न मिल्ने, भिडियो पनि देखाउन मिल्ने भएकाले निकै उपभोगी साबित हुने उहाँको भनाइ छ ।

विद्यालयको शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत स्मार्ट बोर्ड जडान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम केसी (सूर्य)ले बताउनुभयो । ‘‘विद्यालयहरू अब विद्यार्थीको माग र समयको आवश्यकता अनुकुल प्रविधिमैत्री बन्नुपर्छ, त्यस अनुरूप हामीले विद्यालयमा स्मार्ट बोर्ड प्रयोगमा ल्याएका हौँ ।’’ विद्यालयमा तत्काल चार वटा स्मार्ट बोर्ड जडान गरिएको र उपलब्ध बोर्ड ७, ८, ९ र १० कक्षामा प्रयोग गरिने अध्यक्ष केसीले जानकारी दिनुभयो ।

जलजलामा ४० वटा सामुदायिक विद्यालयहरू छन् । जसमध्ये १० वटा माध्यमिक विद्यालय, चार वटा आधारभूत विद्यालय र २६ वटा प्राथमिक विद्यालयहरू छन् । यसअघि जलजला गाउँपालिका वडा नम्बर ९ बनौमा अवस्थित बनौ माध्यमिक विद्यालयले तीन वटा, विद्याज्योति माध्यमिक विद्यालयले पाँच वटा र कृष्ण भवन धर्म माध्यमिक विद्यालय एक वटा स्मार्ट बोर्ड जडान गरी अध्ययन÷अध्यापन गराइरहेको पालिकाका शिक्षा अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँले पालिकाका अन्य विद्यालयमा पनि क्रमैसँगै डिजिटल स्मार्ट बोर्ड जडान गरेर पठनपाठन गराउन थालिएको बताउनुभयो । स्मार्ट बोर्ड जडानले विद्यालयको पठनपाठन स्तरीय बनाउन र विद्यार्थीलाई प्रविधिको ज्ञान दिन थप सहयोग पुग्ने भएकाले शिक्षकलाई सूचना प्रविधिमैत्री तालिम सञ्चालन गरेर डिजिटल कक्षाको अभ्यास गराइएको उहाँको भनाइ छ ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले गाउँपालिकाका सबै सामुदायिक विद्यालय प्रविधिमैत्री बनाउन लागि परेको बताउनुभयो । ‘‘सामुदायिक विद्यालयको पठनपाठन सबल र प्रतिस्पर्धी बनाउन गाउँपालिकाले कक्षा कोठामा स्मार्टबोर्डको माध्यमबाट शैक्षिक क्रियाकलाप गर्ने नीति लिएको छ ।,’’ अध्यक्ष आचार्यले भन्नेभयो, ‘‘हाम्रो विद्यालयमा प्राप्त दरबन्दीहरू छैनन्, शिक्षकहरूले कहिलेकाँही बिदा लिन पाउने सुविधा छ, त्यस्तो अवस्थामा स्मार्टबोर्ड सहज हुनेछ ।’’

उहाँले शैक्षिक क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिलाई प्रयोगमा आत्मसात गदै डिजिटल कक्षा सुरु गरिएको बताउँदै स्मार्ट विद्यालय र विद्यालयका स्मार्ट सामग्रीलाई टिकाई राख्ने काममा शिक्षक, अभिभावक, स्थानीय निकाय सबैको सहयोग आवश्यक रहेको बताए ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.