माघ, २२/ नुवाकोट : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको विद्यालय शिक्षा विधेयक आवश्यक रहेको बताएकी छिन्।
सोमबार प्रेस चौतारी नेपाल, नुवाकोटले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले प्रक्रियामा अघि बढेर लामो समयदेखि छलफलमा रहेको विधेयकमा देखिएका समस्याअन्तर्गत शिक्षक परिचालन र व्यवस्थापन तीन तहकै सरकारको जिम्मेवारीमा पर्ने भएकाले देशभर खटाउन सकिने उल्लेख गरिन्।
“शिक्षक आफैँ कहाँ रहने भन्ने विषय अहिले अन्योल भएकाले सेवा प्रवाहका लागि देशभरका विद्यालयमा जान तयार हुनुपर्छ”, उनले भनिन्, “पालिकाबाट अनुगमन तथा परिचालन हुन्छ। प्रदेश सरकारले भर्ना, पदपूर्ति, पदस्थापना, तालिम, बढुवा गर्छ। परिचालन तथा व्यवस्थापन, आवश्यक नीतिसहितको बाँकी जिम्मेवारी सङ्घीय सरकारबाट गराउन खोजिएको छ।”
विधेयकमा देखिएका समस्यामध्ये संस्थागत विद्यालयको व्यवस्थापन पक्ष अझै थप पेचिलो बन्दै गइरहेको मन्त्री भट्टराईले बताइन्।
“शिक्षामा निजी क्षेत्रको लगानी व्यावसायिक नभई कल्याणकारी हुनुपर्छ। छात्रवृत्ति लगायतका सेवा अनिवार्य कार्यान्वयन गर्नुपर्छ”, उनले भनिन्, “पाँच सयसम्म विद्यार्थी भएका विद्यालयमा दश प्रतिशत, आठ सयसम्म विद्यार्थी भएको विद्यालयमा १२ प्रतिशत र एक हजारभन्दा माथि विद्यार्थी भएका विद्यालयले १५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्छ। १० प्रतिशतलाई कार्यान्वयनमा ल्याए पनि बाँकीलाई समेट्न सकिएको छैन। विधेयक र त्यसपछि बन्ने ऐनमा यसलाई जोड दिइन्छ।”
सरकारले अनिवार्यसहित निःशुल्क शिक्षा कार्यान्वयन गर्न आवश्यक कोष निर्माण गर्नेसहितका नवीनतम विषय अब आउने विधेयक र ऐनमा समावेश गर्ने उनले जानकारी दिइन्।
2025 © Education Manch. All Rights Reserved.