काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) पुनर्संरचना विषयक छलफल सम्पन्न भएको छ। आइतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईको अध्यक्षतामा सिटिइभिटीको संघीय पुनर्संरचना सम्बन्धी छलफल सम्पन्न भएको हो।
मन्त्रालयको सभाहलमा आयोजित बैठकमा CTEVT का सदस्य सचिवले परिषद्को पाठ्यक्रम तथा समकक्षता निर्धारण, परीक्षा प्रणाली सुधार, सीप परीक्षण, सम्बन्धन तथा स्वीकृति प्रक्रियासम्बन्धी अद्यावधिक कार्यहरू प्रस्तुत गर्नुभएको थियो। छलफलमा पुनर्संरचनाका लागि गठित समितिले पेश गरेका मुख्य सिफारिसहरू पनि छलफलमा समेटिएका थिए।
छलफलमा बोल्दै मन्त्री बिद्या भट्टराईले CTEVT लाई संघीय संरचनाअनुसार अनुकूल बनाउन आवश्यक कदम चाल्ने, नर्सिङ विषयको व्यावहारिक पक्षमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने, र प्राविधिक धारका पाठ्यक्रममा एकरूपता कायम गर्न गृहकार्य गर्नुपर्नेमा जोड दिईन्। साथै, परिषद्को संस्थागत सुशासनमा सुधार ल्याउनुपर्ने र सम्बन्धन प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने आवश्यकता औंल्याइन्।
बैठकमा CTEVT का विद्यार्थीहरूले उच्च शिक्षा तथा श्रम बजार प्रवेशमा भोग्नुपरेका समस्याहरू समेत छलफलको केन्द्रमा रह्यो। उच्च शिक्षा महाशाखा हेर्ने सहसचिव बैकुण्ठ अर्यालले पाठ्यक्रम पुनरावलोकन, शिक्षा तथा मानवस्रोत विकास केन्द्रसँग समन्वय, तथा सीप परीक्षणका लागि दक्ष जनशक्ति विकास गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।
छलफलमा शिक्षा मन्त्रालयका उच्च अधिकारीहरू, कानूनी तथा नीति कार्यान्वयन शाखाका प्रमुख, परिषद्का कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो।
2025 © Education Manch. All Rights Reserved.