Breaking News
अघि बढ्न सकेन शिक्षा विधेयक

अघि बढ्न सकेन शिक्षा विधेयक

पछिल्लो समय विद्यालय शिक्षा विधेयकमा देखिएका विवादित विषयमा छलफल गरेर सहमति जुटाउन संसदीय समितिले ११ सदस्यीय उपसमिति गठन गरेको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले एमालेका सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा उपसमिति गठन गरेको हो । 

उपसमिति सदस्यमा दुई पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र देवेन्द्र पौडेलसहित सरिता भुसाल, रेखा शर्मा, डिगबहादुर लिम्बू, महेन्द्रकुमार राय, रामप्रसाद चौधरी, विना जैसवाल र विनिताकुमारी सिंह हुनुहुन्छ । बाँकी एक सदस्य समितिमा प्रतिनिधित्व गर्ने दलसँगको परामर्शमा समितिमा रहेकै सदस्यमध्येबाट अध्यक्षले मनोनीत गर्ने निर्णय बैठकले गरेको समितिका सचिव दशरथ धमलाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार विधेयकमा देखिएका विवादबारे सरोकारवालासँग आवश्यक छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन उपसमितिलाई भनिएको छ । गत २०८० भदौ २७ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले यो विधेयक प्रतिनिधि सभामा दर्ता गराउनुभएको थियो ।  

विधेयकमा १५२ जना सांसदले एक हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए । प्रतिनिधि सभाले दफावार छलफल गर्न असोज २५ गते संसदीय समितिमा पठाएको थियो । समितिले सांसद, सरोकारवालालगायतसँग छलफल, सांसदको संशोधन, संशोधन दर्ता गर्ने सांसदहरूसँग छलफल जस्ता औपचारिक काम सकिसकेको छ । त्यसपछि विधेयकमाथि प्रदेशस्तरबाट राय सुझाव लिने भन्दै गरिएका प्रदेशस्तरीय छलफल पनि सकेको छ । 

यो विधेयकमा भएकामध्ये निजी लगानीमा विद्यालय स्थापना र सञ्चालनसम्बन्धी, प्रधानाध्यापकको छनोट, राष्ट्रिय परीक्षा बोर्डमा रहने कर्मचारीको व्यवस्थालगायत पेचिला विषय हुन् । संशोधनकर्तासँगको छलफलमा निजी विद्यालयलाई निश्चित समयमा सार्वजनिक गुठीमा लैजानुपर्ने, शिक्षकलाई स्थानीय तहमातहतै राख्नुपर्ने, शिक्षक महासङ्घसँग गरेको सम्झौता कार्यान्वयन गर्ने गरी विधेयक टुङ्गो लगाउनुपर्ने सांसदहरूको प्रस्ताव छ । यसबाहेक शिक्षक स्थानीय सरकारमातहत हुने कि सङ्घमातहत हुने, शिक्षकको सरुवा, बढुवा, कारबाहीको विषय पनि यो विधेयकले समाधान खोज्नुपर्ने दफा हुन् । 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.