१७ फागुन, काठमाडौं । राष्ट्रियसभा गृहको प्राङ्गणमा शुक्रबार पूरै नेपाल चियाउन पाइन्थ्यो । हिमाल, पहाड, तराईलाई विद्यार्थीहरूले चित्रमा उतारेका थिए । नेपालको कला, संस्कृति र सभ्यतालाई प्रस्तुत गरिरहेका थिए, विद्यार्थीहरू । कोही चित्र कोर्न व्यस्त थिए । कोही पकाउन । कोही ड्रोन उडाइरहेका थिए । कोही मादल बजाउन । कोही पठन संस्कृतिको विकास गर्न पढिरहेका थिए । आफ्नो रुचि अनुसारको काममा व्यस्त थिए, विद्यार्थी ।
सभागृह विद्यार्थी, अभिभावक, शिक्षक र प्राज्ञहरूले खचाखच थियो । रङ्गीचङ्गी थियो । भित्र औपचारिक कार्यक्रम चल्दा पनि बाहिर विद्यार्थीको स्टलहरूमा भीड थियो । उत्सावमय थियो–सभागृह । यो काठमाडौं महानगरपालिकाले आयोजना गरेको शैक्षिक मेला हो ।
काठमाडौं महानगरले गत वर्षदेखि विद्यालयहरूमा शुक्रबार ‘बुक फ्रि फ्राइडे’ (किताबविनाको शुक्रबार) कार्यक्रम चलाइरहेको छ । किताबविनाको शुक्रबारमा विद्यार्थीले सिकेका सीपलाई समेटेर महानगरले शैक्षिक मेलाको आयोजना गरेको हो ।
विद्यार्थीहरूले एक वर्षको अवधिमा विद्यार्थीहरूले फेसन डिजाइन, कृषि, कार्पेन्ट्री, हेयर कटिङ, मोबाइल मर्मत, कुकिङ, संगीत, नाटक, ड्रोन, संस्कृति, सम्पदा, पठन संस्कार, योगा, नृत्य लगायतका सीप सिकेका छन् । बालबालिकाको सर्वाङ्गीण विकासका लागि महानगरपालिकाले ‘शैक्षिक मेला’को आयोजना गरेको हो ।
सो मेलामा श्रम राष्ट्रिय माध्यामिक विद्यालय र मंगलादेवी माध्यामिक विद्यालयका विद्यार्थीले ‘कुकिङ’को प्रदर्शनी गरिरहेका थिए । ‘पहिले कटिङको जानकारी थाहा थिएन । अहिले खानाको विभिन्न् डिस बनाउन सक्ने भएका छौं,’ मंगलादेवी माध्यामिक विद्यालयकी विद्यार्थी सुधा कुमारी दासले भनिन् ।
बुक फ्रि फ्राइडे सुरु भएपछि विद्यार्थीको सिकाइमा सुधार आएको शिक्षकहरूको दाबी गर्छन् । ‘पहिले यस्तो सीप जानेको थिएन । अहिले विद्यार्थीले आफैं काम गर्न सक्ने भएका छन् । विद्यार्थीको हातहातमा सीप छ,’ श्रम राष्ट्रिय माध्यामिक विद्यालयकी शिक्षिका प्रभा श्रेष्ठले भनिन् ।
तरुण माध्यामिक विद्यालयका विद्यार्थी मोबाइल मर्मत गरिरहेका गिए । अचेल प्राविधिक सीप पाइरहेको विद्यार्थीहरू बताउँछन् । ‘मोबाइल मर्मत गर्न सिकिरहेका छौँ । आधारभूत ज्ञान पाएका छौं । शुक्रबारको सिकाइले सकारात्मक प्रभाव परेको छ । गरिखाने शिक्षा पाइरहेका छौं,’ कक्षा ९ मा पढ्ने प्रयाद भट्टले भने ।
विद्यार्थीहरूले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा पाइरहेको निष्कर्ष शिक्षकहरूको छ । ‘पहिले सैद्धान्तिक कुरा हुन्थ्यो । बुक फ्रि फ्राइडेमा विद्यार्थीले गरेर सिक्न पाएका छन् । विद्यार्थीले धेरै बिधा सिक्न पाएका छन्,’ तरुण माविका शिक्षक टेकनाथ आचार्यले भने, ‘घरमा नियमित प्रयोग हुने कुरा विद्यार्थीले सिक्न पाएका छन् ।’
राष्ट्रिय सभा गृहमा ज्ञानोदय माविका कक्षा ९ का विद्यार्थी आर्ट गरिरहेका थिए । योजना गौडेल, जियाना नेपाल र अमिसा भुसाल सम्पदा संस्कृतिका चित्र कोरिरहेका थिए । ‘नयाँ नयाँ कुरा सिकिरहेका छौं । पेन्टिङ सिकिरहेका छौं । आफ्नो इमोसन चित्रमा एक्सप्रेस गर्न पाएका छौं,’ उनीहरूले भने, ‘पहिले स्केच बनाउने थाहा थिएन । अहिले जान्ने भएका छौं ।’
कक्षामा पनि चित्र बनाएर पढ्न सजिलो हुने गरेको उनीहरूले बताए । ‘सैद्धान्तिक कुरालाई पनि चित्र बनाएर पढ्ने गरेका छौं,’ अमिसाले भनिन् । किताब बाहिरका कुरा सिक्न र जान्न पाएकोमा विद्यार्थी दंग देखिन्थे । ‘विद्यार्थीले नयाँ नयाँ कुरा सिक्न पाएका छन् । किताब बहेकका विषयमा सीप सिकेका छन् । यसले सिकाइमा सुधार ल्याएको छ,’ जनकल्यान स्कुलका शिक्षक सुन्दर ढुंगेलले भने । शैक्षिक मेलामा महानगरभित्रको सामुदायिक र निजी सबै विद्यालयको सहभागिता रहेको छ ।
‘महानगरका सामुदायिक र निजीलाई समेटेर शैक्षिक मेलाको आयोजना गरेका हौं,’ महानगरकी उपप्रमुख सनिता डंगोलले भनिन्, ‘सबैको उत्साहजनक सहभागिता छ । शैक्षिक मेला नागरिक, शिक्षक, विद्यार्थी सबैको मेला बन्न पुगेको छ ।’
महानगरको बुक फ्रि फ्राइडे अभियानले विद्यार्थीमा नेतृत्व गर्ने क्षमतामा पनि विकास आएको उनले बताइन् । ‘स्कुलमा सिकेको कुरा हेर्न पाइयो । विपद् आयो भने के गर्ने ? गरिखाने शिक्षा महानगरको इच्छा भनेर अभियान सुरु गरेका हौँ,’ उपप्रमुख डंगोलले भनिन् । महानगरका विद्यार्थीले फोहोरबाट मोहोर बनाउने काम पनि गरिरहेको उपप्रमुख डंगोलले बताइन् ।
‘विद्यार्थीले आफैंले फोहोर छुृट्टाएर बेच्न मिल्ने फोहोरलाई मोहोर बनाउन स्कुल स्कुलमा सिकिरहनु भएको छ । यो सिकाइको कुरा विद्यालयमा मात्र सिमित छैन । विद्यालयमा सिकेको कुरा घरमा पुगेको छ,’ उनले भनिन् । मेलामा बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शनमा राखिएको छ । मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजालाई पनि स्टलमा राखिएको छ । मेलामा ४०–५० हजार विद्यार्थी सहभागी हुने अपेक्षा महानगरको छ । महानगरको यो शैक्षिक मेला शनिबारसम्म चल्ने छ ।
2025 © Education Manch. All Rights Reserved.