काठमाडौं, २८ माघ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पाँच वर्ष एउटै विद्यालयमा अध्यापन गरेकासामुदायिक विद्यालयका शिक्षकको सरुवा गर्ने भएको छ । पूर्वप्रधानाअध्यापक, पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षक, नगर सिकाइ सहयोग अनुदानमा कार्यरत शिक्षक, राहत अनुदानमा कार्यरत शिक्षक र बालविकास शिक्षकको सरुवा गर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
पालिकाले नगर क्षेत्रभित्रकै विद्यालयमा सरुवा गरिनेसमेत नगरपालिकाले जनाएको छ । सरुवा हुन चाहेको शिक्षकले कम्तीमा पाँच वटा विद्यालयको प्राथमिकता क्रमसहित नगरपालिकाको शिक्षा शाखामा निवेदन दिनुपर्ने विद्यालय समायोजन दरबन्दी मिलान तहगत प्रअ व्यवस्थापन कार्यदलका संयोजक रमेशबहादुर ऐरले जानकारी दिए ।
“शिक्षकको नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा सरुवाका लागि प्रतिवेदन निर्णयार्थ कार्यपालिकामा पेस गरी पारित गरिएको छ”, उनले भने, “सुझावसहित पारित प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित विद्यालयमा जानकारी दिइएको छ ।”
संयोजक ऐरका अनुसार ६३ नगर शिक्षक, नौ जना सङ्घीय अनुदानका शिक्षक गरी ७२ जना, प्राथमिक तहका स्थायी ७३, निम्न माध्यमिक तहका १६, माध्यमिकका आठ स्थायी शिक्षकको दरबन्दी मिलान, व्यवस्थापन गरिने छ ।
यसैगरी उच्च माविका दुई, राहत कोटाका प्राथमिक तहका ५०, निम्न माध्यमिक विद्यालयका २३, माध्यमिक तहका २४, साविक उच्च माविका आठ र बालविकासका ६५ शिक्षकको व्यवस्थापन गरिने भएको छ ।
2025 © Education Manch. All Rights Reserved.