३० माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अध्ययन गरी देश निर्माणमा लाग्न युवाहरूलाई आग्रह गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ पाटन संयुक्त क्याम्पस इकाईले गरेको नव आगन्तुक विद्यार्थीलाई स्वागत, पुस्तकालय हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालमा शैक्षिक गुणस्तरको विषयलाई लिएर प्रश्न उठाइने गरेको भएपनि अहिले त्यो अवस्था नरहेको बताए ।
‘शैक्षिक गुणस्तरको कुरालाई लिएर जुन प्रश्न गरिन्छ, त्यो खास गरेर मै विद्यार्थी हुँदा हामीले सिमित विषयहरू छान्न पाउने गर्दथ्यौँ । तर अहिले त्यो अवस्था छैन,’ उनले भने ।
अहिले अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालयमा पढाइ हुने विषयहरू पनि नेपालकै क्याम्पसहरूमा अध्ययन गर्न सकिने अवस्था रहेको उनले उल्लेख गरे ।
नेपालमै अध्ययन गरी नेपाली समाजलाई अगाडि बढाउन युवाहरूले विशेष ध्यान दिन जरुरी रहेको बताए ।
‘हामीले धेरै विषयहरु छानेर अध्ययन गर्नसक्छाँै । अहिले विभिन्न विषयमा अध्ययन गर्न मिल्छ । अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ हुने विषयहरू अहिले नेपालमै बसेर पढ्न मिल्छ । यहीँ नेपालमै बसेर अध्ययन गरेर समाज अघि बढाउन सकिन्छ, त्यसमै ध्यान दिनुपर्छ,’ उनले भने ।