Breaking News
अभ्यास परीक्षाका नाममा विद्यार्थीबाट चर्को शुल्क असुली

अभ्यास परीक्षाका नाममा विद्यार्थीबाट चर्को शुल्क असुली

भैरहवा — निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) आबद्ध सिद्धार्थनगरका अधिकांश विद्यायलयमा पूर्वतयारी अभ्यास परीक्षाको नाममा कक्षा १० र ८ का विद्यार्थीबाट मनोमानी शुल्क असुली गरिरहेका छन् । प्याब्सनबाट परीक्षा लिइने भन्दै एसईई र ८ कक्षाका विद्यार्थीबाट अभ्यास परीक्षाको नाममा चर्को शुल्क असुली भइरहेको छ ।

मनोमानी ढंगले विद्यार्थीबाट शुल्क असुलीसहित नगरका अधिकांश विद्यालयमा अभ्यास परीक्षा संचालन भैरहँदा नियमनकारी निकाय सिद्धार्थनगर नगरपालिका भने मौन छ ।

केन्द्रिय कमिटीको निर्देशन अनुसार भन्दै प्याब्सन रुपन्देहीले दुवै कक्षाका विद्यार्थीलाई माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा २०८१ को नामबाट गत माघ ६ गतेदेखि परीक्षा संचालन गरेको छ । यी दुवै कक्षामा यसखालको अभ्यास परीक्षा लिन नपाइने प्रावधान छ ।

‘शुल्क लिएर यी दुवै खालका अभ्यास परीक्षा संचालन गर्न पाइदैन,’ शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख माधव बन्जाडेले भने, ‘पैसा उठाउने खोलो भयो भनेर नै सरकारले १० कक्षाको प्रि सेन्टअप परीक्षा बन्द गरेको हो । एसईईका लागि पनि केन्द्रले ५ सय भन्दा बढी शुल्क कतै पनि लिएको छैन ।’

प्याब्सन रुपन्देहीले माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा संचालन गर्नेबारे गत पुस २ गते जारी गरेको पत्रमा कक्षा १० मा न्यूनतम प्रति विद्यार्थी ८ सय ५० रुपैयाँ उठाइ ३ सय सम्बन्धित विद्यालयले राख्ने, अनलाइन रजिष्ट्रेशन फारामभरी १ सय रुपैयाँ प्याब्सन केन्द्रमा पठाउने र ४ सय ५० रुपैयाँका दरले प्याब्सन रुपन्देहीमा पठाउन भनिएको छ ।

यसैगरी, कक्षा ८ मा प्रतिविद्यार्थी न्यूनतम ७ सय रुपैयाँ उठाइ प्रति विद्यार्थी २ सय ५० का दरले सम्बन्धित विद्यालयले राख्ने र ४ सय ५० का दरले प्याब्सन रुपन्देहीको बैंक खातामा जम्मा गर्न लगाइएको थियो । अभ्यास परीक्षाका लागि प्याब्सन रुपन्देहीले उठाउन लगाएको यो परीक्षा शुल्क अत्याधिक चर्को र नियम विपरीत हो । केही विद्यालयले भने प्याब्सनले तोकेको भन्दा धेरै शुल्क असुली गरेका छन् ।

प्याब्सन सिद्धार्थनगर नगरका अध्यक्ष उदय मल्लिकले सिद्धार्थनगरका १८ वटा माध्यामिक विद्यालयमा प्याब्सनबाट माध्यामिक शिक्षा तथा आधारभूत तह अभ्यास परीक्षा संचालन गरिएको बताए । जसमा कक्षा १० बाट ७ सय १७ र कक्षा ८ बाट ८ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी छन् । विद्यालयले संचालन गर्ने त्रैमासिक परीक्षा शुल्क अनुरुप नै प्याब्सनले परीक्षा संचालन खर्च उठाएको उनले दाबी गरे ।

विद्यालयले संचालन गर्ने त्रैमासिक परीक्षाका लागि हरेक कक्षामा स्विकृत मासिक शुल्कको ५० प्रतिशतलाई विद्यालयले वर्षभरिमा जति पटक परीक्षा लिने हो त्यतिले भाग गर्दा आउने रकममात्र एक पटकको परीक्षामा शुल्क लिन पाउने प्रावधान छ । कक्षा ८ को त्रैमासिक परीक्षाका लागि प्रति विद्यार्थी ४ सय ५० शुल्क उठाएको विद्यालयले प्याब्सनको बिएलइ अभ्यास परीक्षाका लागि ८ सय ५० रुपैयाँसम्म अग्रिम असुली गरेको छ ।

विद्यालयले संचालन गरेको तेस्रो त्रैमासिक परीक्षा सकिएको साता दिनपछि शुल्क असुल्दै पुनः यस खालको परीक्षा लिइदा विद्यार्थीले अघिल्लो परीक्षामा गरेको गल्ती सुधार्ने मौका समेत नपाएको र हजारौं अभिभावक आर्थिक मारमा परेको अभिभावक बताउँछन् । ‘परीक्षा भनेको विद्यार्थीको सिकाइलाई मापन गर्ने माध्यम हो । अघिल्लो परीक्षामा भएका कमजोरी समेत सुधार गर्ने मौका नपाइ तत्कालै परीक्षा लिनु उचित होइन,’ सिद्धार्थनगर–८ का कुलमणि ज्ञवालीले भने, ‘यहाँ त परीक्षा भनेको पैसा कमाउने माध्यम बनाइएको छ ।’

क्ठ्याग्रिंने चिसोमा बिहान ७ बजेदेखि लिएको अभ्यास परीक्षाले विद्यार्थी र अभिभावकलाई बाक्लो कुहिरो र शितलहरका बेला सास्ती समेत भएको उनले बताए । माध्यामिक तहसम्मको शिक्षा प्रणाली संचालन तथा अनुगमन र कारवाही गर्ने अधिकार स्थानीय तहलाई छ । तर, सिद्धार्थनगर नगरपालिका भने नगरभित्रका विद्यालयले के कस्ता शैक्षिक गतिबिधि गरिरहेका छन् ? भन्ने सामान्य जानकारीबाट समेत बेखबर छ ।

नगरपालिकाको शिक्षा शाखाका कर्मचारी नियमन गर्न जनशक्तिको अभाव र अधिकार नभएको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने गर्छन् । नगरपालिकामा आवश्यकता अनुरुपको जनशक्ति र अधिकार नहुँदा विद्यालय नियमित अनुमगन र नियमनमा कठिानाइ भइरहेको सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.