सुरुसुरुमा बालबालिकालाई अलमल्याउन ठिकै देखिए पनि स्मार्ट फोनमा बालबालिका अलमलिन थालेपछि त्यसको परिणाम भयावह हुन सक्छ ।
आज विश्वलाई सहज बनाएको इन्टरनेट र मोबाइलले बालबालिकाको शिक्षण सिकाइमा सकारात्मक सहयोग पुर्याउनुको साटो प्रतिकूल असर पुर्याइरहेको छ । बालबालिकाले आफ्नो लामो समय मोबाइलमा खर्चिंदा तिनको सिर्जनशीलता घट्दै गएको हामी सबैले अनुभव गरिरहेकै विषय हो । कतिपय अध्ययनले पनि यसलाई पुष्टि गरेका छन् । सबैका हातहातमा महँगा र विभिन्न ‘फिचर’युक्त स्मार्ट फोन घरघरमा इन्टरनेट जोडिएपछि यसले आधुनिक सञ्चारलाई सहज बनाए पनि व्यवहारमा भने बालबालिकाको सिर्जनशीलता, अध्ययनशीलता र मौलिकतामा ह्रास आई सिकाइ उपलब्धि कमजोर बन्दै गएको प्रस्ट अनुभव गर्न सकिन्छ ।
सिक्ने उमेरमा बालबालिका मोबाइलमा रमाउने प्रवृत्तिले तिनको सिर्जनशीलतामा मात्रै ह्रास आउने होइन । मोबाइल स्क्रिनसित बालबालिकाको घनिष्टता बढ्दै जाँदा बालबालिकाको स्कुल नजाने क्रम बढ्ने, ससाना विषयमा पनि झनक्क रिसाउने, अभिभावक र शिक्षकले दिएको सुझाव नमान्ने, पुस्तकलाई भन्दा मोबाइललाई माया गर्नेजस्ता अवस्थासमेत देखिन थाल्छन् । यसले बालबालिका परिवारका सदस्य र आफन्तबाट टाढिँदै जाने, घरमा को आयो र को गयो भन्ने पत्तो नपाउने, सामाजिक क्रियाकलापबाट टाढिने क्रम बढ्छ । केटाकेटीले मोबाइलमा अलमलिन थालेपछि शिक्षकले सिकाएका कुरा बिर्सनुका साथै गृहकार्य गर्न पनि छाडेका छन् । पहिले–पहिले सहजै उपलब्ध नहुने इन्टरनेट अहिले सहरबजारदेखि दूरदराजका गाउँबस्तीका घरघरमा पुगेपछि केटाकेटीले अभिभावकको मोबाइल प्रयोग गरी आफ्नो अमूल्य समय मोबाइलको स्क्रिनसामु बिताउन थालेका छन् । कतिपय अभिभावक स्वयं मोबाइलमा रमाउन थालेपछि तिनले केटाकेटीका लागि समय दिन नसकिरहेको अवस्था पनि देखिन्छ । यसले आफ्ना बालबालिकाले के गर्दै छन्, कसरी समय बिताउँदै छन्, इन्टरनेटमा के हेर्दै छन्, के सिक्दै छन् भन्ने विषयमा अभिभावकको ध्यान पुग्न सकेको देखिन्न ।
प्रायः केटाकेटी घर पुग्नासाथ खाजासमेत नखाई मोबाइलमा रमाउन थाल्छन् । त्यति मात्र होइन, आफ्नै सिर्जनामा लेख्ने गरेका निवेदन, निबन्ध, कवितालगायत विषयसमेत गुगल सर्च गरेर, एआई या च्याट जिपिटीसित सोधेर आफ्ना उत्तरपुस्तिकामा सार्न थालेका छन् । यसले उनीहरूको सिर्जनशीलतामा क्रमशः ह्रास आइरहेको छ । एक–दुई वर्ष पुगेदेखि नै बाबुआमाले बालबालिकालाई अलमलाउन मोबाइल हातमा थमाउने गरेका छन् । सुरुसुरुमा त बालबालिकालाई अलमल्याउन सजिलो पनि लाग्ला । तर, जब यसैको परिणाम बालबालिका मोबाइलबाहेक अन्यत्र अलमलिन छाड्छन्, त्यसको परिणाम भयावह हुन सक्छ । त्यसैले, आजका हरेक अभिभावक सुरुदेखि नै सचेत हुन जरुरी छ । उनीहरूले बालबालिकालाई कोठाभित्र र बाहिर खेलिने खेलमा सहभागी गराउने, आफू पनि सहभागी भएर खेल्ने, आफू पनि पुस्तक पढ्ने र बालबालिकालाई पनि उनीहरूको रुचिअनुसारका पुस्तक दिएर पढ्न प्रेरित गर्ने हो भने मोबाइलको लत छुटाउनै नसकिने होइन ।
मोबाइलमा रमाउन थालेपछि केटाकेटीले आफ्ना पाठ्यपुस्तक पल्टाउनसमेत बिर्सन थालेका छन् । मोबाइलको स्क्रिनअघि घन्टौँ रमाउन सक्ने बालबालिकाले किताब पल्टाउनुपर्दा झिँजो मान्न थालेका छन् । ठुला कक्षामा पुगेका विद्यार्थीका लागि स्मार्ट फोन र इन्टरनेट सिकाइका लागि उपयुक्त माध्यम या सहयोगी साधन हुन सक्छन्, तर ससाना केटाकेटीका लागि भने यी साधन समयको बर्बादी मात्र बन्न सक्छन् ।
मोबाइल या कम्प्युटर स्क्रिन धेरै बेरसम्म हेर्दा केटाकेटीका आँखासमेत खराब बन्न सक्छन् । अहिले कतिपय केटाकेटीमा दृष्टिसम्बन्धी समस्या बढ्दै गएको देखिन्छ । आँखा विशेषज्ञहरूले पनि लामो समयसम्म स्मार्ट फोनको स्क्रिन हेर्नु केटाकेटीका लागि घातक हुने चेतावनी दिँदै आएका छन् । हुन पनि बालबालिकाको जन्मदेखि सात वर्षसम्म आँखाको विकासको समय भएकाले यस अवधिमा तिनलाई स्क्रिनबाट टाढै राख्नु उचित हुन्छ ।
प्रविधिको तीव्र विकासले समाजका धेरै पक्षमा परिवर्तन ल्याएको छ । स्मार्ट फोन र इन्टरनेट हाम्रो जीवनका अभिन्न अंग बनेका छन् । आज हाम्रा धेरै गतिविधि स्मार्ट फोनमै आधारित हुने गरेका छन् । तर, यसो भन्दै गर्दा केटाकेटीमा स्मार्ट फोनप्रतिको बढ्दो मोहलाई भने समयमै कम गर्नु जरुरी छ । साथै, हाम्रो परम्परागत शिक्षण विधिमा आधुनिक प्रविधि भित्र्याउनेतर्फ समग्र शिक्षा क्षेत्र नै लाग्नु जरुरीसमेत देखिएको छ । स्मार्ट कक्षाकोठाको अवधारणामा डिजिटल शिक्षाका माध्यमबाट सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सकिन्छ । हाम्रा कक्षाकोठा स्मार्ट बन्दै गए भने बालबालिकाको पठनपाठनमा रुचि बढ्नुका साथै स्मार्ट फोनको स्क्रिनप्रतिको मोह पनि घटाउन सकिन्छ ।
स्मार्ट कक्षको अवधारणासँगै शिक्षण सिकाइ प्रक्रियालाई प्रविधिले सशक्त र सक्षम बनाउँछ । यसमा इन्टरनेटजडित कम्प्युटर, प्रोजेक्टर, ट्याबलेट, शैक्षिक सफ्टवेयरजस्ता उपकरण प्रयोग गरी डिजिटल सामग्रीका माध्यमबाट शिक्षण गरिन्छ । डिजिटल सामग्रीले केटाकेटीलाई आफ्नो गतिमा सिक्न सहयोग गर्नुका साथै स्वयं स्मार्ट बन्न सिकाउँछ । डिजिटल शिक्षाले शिक्षकलाई प्रभावकारी शिक्षणमा सघाउँछ ।
आधुनिक डिजिटल प्रणालीले केटाकेटीलाई समयसापेक्ष प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउँछ । हाम्रो जस्तो विकासोन्मुख देश, जहाँ शिक्षाको पहुँच कठिन भई गुणस्तर सुधारमा ढिलाइ भरहेको सन्दर्भमा स्मार्ट कक्षाकोठाको अवधारणालाई क्रमशः अघि बढाउँदै लग्नुपर्ने हुन्छ । यस किसिमको नयाँ प्रविधिबाट शिक्षण प्रक्रिया अघि बढाउन र प्रभावकारी कार्यान्वयनका लागि सरकार, गैरसरकारी संस्था, समुदाय, विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत सबैको साझा एजेन्डा बनाउनुपर्छ । साथै, बन्दै गरेको शिक्षा ऐनमा समेत यस विषयलाई समावेश गरी राष्ट्रिय नीतिमै स्मार्ट शिक्षण विधिलाई समेट्न ढिलो हुँदै छ ।
समयको पदचापसँगै सूचक र मापन विधिलाई सुधार गर्दै परिष्कृत तुल्याउने काम आधुनिक विधि र प्रविधिबाट हुने हो । यसैलाई मध्यनजर राख्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीअन्तर्गत सन् १९९० देखि प्रतिवर्ष भूमण्डलीय मानव विकासको प्रतिवेदन प्रस्तुत गरिँदै आएको छ । अन्य मुलुकले पनि आआफ्नो राष्ट्रिय मानव विकास प्रतिवेदन प्रकाशित गर्दै आएका छन् । नेपालका सन्दर्भमा शैक्षिक व्यवस्थाका कारण शैक्षिक निकायले सक्षम र सुयोग्य नागरिक उत्पादन गर्ने आफ्नो दायित्वबाट विमुख हुने त्रास बढ्दो छ । परिणामतः समाजका विभिन्न नेतृत्वदायी ठाउँमा सबल र सक्षम नेतृत्वको अभाव खड्किरहेको छ ।
राजनीतिक नेतृत्वले योग्य र अब्बल व्यक्तिलाई उचित स्थान दिन नसक्दा कमजोर राजनीतिक नेतृत्वको पिछलग्गुले अब्बल दर्जा र ठाउँ पाउँदा शैक्षिक, राजनीतिक, सामाजिक र आर्थिकलगायत क्षेत्रमा अव्यवस्था बढ्दै छ ।
विद्यालय उमेरका केटाकेटीलाई उमेर र कक्षानुसारको योग्यता दिने जिम्मेवारी पूरा गर्नका लागि राज्यको लगानी पनि समुचित तरिकाले वृद्धि गर्नुपर्छ । शैक्षिक क्षेत्रको विफलता भनेको परीक्षामा असफलता मात्र होइन, तिनको व्यक्तित्वमा जीवनभरका लागि गाँसिएको र प्राप्त गरेको शैक्षिक योग्यताभन्दा व्यावहारिक पक्षलाई ठुलो मान्नुपर्छ । हुन त अहिले विद्यार्थीको ग्रेडिङ पद्धतिअनुरूप मूल्यांकनमा ९०–१०० सम्म अंक ल्याउनेलाई विशिष्ट ‘ए प्लस’, ८०–८९ प्रतिशत ल्याउनेलाई उत्कृष्ट ‘ए’, ६०–७९ ल्याउनेलाई धेरै राम्रो ‘बी’ श्रेणीमा उत्तीर्ण भनिन्छ । त्यस्तै ४०–५९ ल्याउने लाई राम्रो ‘सी’ २५–३९ प्रतिशत अंक ल्याउनेलाई कमजोर ‘डी’ भनिन्छ र २५ भन्दा कम अंक ल्याउनेलाई ‘इ’ श्रेणीमा गनिन्छ । डी र ई श्रेणीमा पर्नेहरूलाई व्यवहारमा असफल भन्ने चलन छ । यसरी विभिन्न श्रेणीमा उत्तीर्ण हुनेहरूले आफूले सिकेका ज्ञान र सीपलाई व्यावहारिक जीवनमा कसरी प्रयोग गर्छन्, शिक्षण सिकाइको सफलता त्यसमै निर्भर हुन्छ । घोकन्ती विद्या र बोझिलो गृहकार्यले मात्र केटाकेटीको प्रतिभा र क्षमतामा बढोत्तरी आउने होइन । यसमा शिक्षाशास्त्री जोन डिनेको ‘एक्सपेरिमेन्टल लर्निङ थ्योरी’ र मारिया मन्टेसरीको ‘चाइल्ड सेन्टर्ड लर्निङ अप्रोच’को पनि यस किसिमको विचारमा सहमति पाउन सकिन्छ । केटाकेटीले स्वतन्त्रतापूर्वक जीवन र जगत्बारे ज्ञान र सीप हासिल गरी व्यावहारिक जीवनमा उतार्न सके मात्र सिकाइको सार्थक उपलब्धि देखिन सक्छ ।
यसका लागि शिक्षक विद्यार्थीको भविष्यप्रति चिन्तित, आफ्नो पेसाप्रति प्रतिबद्ध, हसमुख र उच्च सोचको हुनु जरुरी छ । शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई करेसाबारीप्रतिको लगाव र त्यहाँ भएका तरकारी, फूल, बिरुवा आदिका सम्बन्धमा पाठ्यपुस्तकअनुसार पढाउँदा पानीविना बोटबिरुवा मर्छन् भन्ने बताए पुग्छ । विद्यार्थीले परीक्षामा उत्तर सहजै लेख्छन्– पानीविना कुनै पनि बोटबिरुवा बाँच्न सक्दैनन् । तर, तिनै विद्यार्थी आफ्नै आँगन, बगैँचा वा कौसीमा गमलामा पानी नपाएर सुकेका बिरुवा हेरी बस्छन् । ती बिरुवा किन मर्दै छन्, त्यसतर्फ वास्ता गर्दैनन् । केटाकेटीमा किन यस्तो व्यवहार देखियो त ? पढ्ने एउटा कुरा, गर्ने अर्को किन ? कथनी र करनीबिच किन मेल खाएन ? यसको दोष कसलाई दिने ? यसमा शिक्षकलाई दोषी ठान्ने कि नठान्ने ? यो हाम्रो शिक्षा प्रणालीको त्रुटि हो कि होइन ? यावत् सवाल उठ्छन् । यसको मूल चुरो हो, सार्थक सिकाइको कमी । सिकाइ उपलब्धिको सही मापन हुन नसकेमा कदापि गुणस्तरीय शिक्षा हासिल हुन सक्दैन ।
पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण क्रियाकलापजस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । यस्ता विषयमा शिक्षाका योजना र क्रियाकलाप कक्षाकोठामा पुर्याई प्रयोग गर्न सकिने खालको हुनुपर्छ । अनि मात्र असल अभ्यासबाट सिकाइ गर्दै विद्यार्थीलाई तहगत व्यावहारिक र प्रयोगात्मक पाठ्यक्रम निर्माण गरी जीवनोपयोगी शिक्षा दिन सकिन्छ ।
नेपालमा गणतन्त्र आयो, नयाँ संविधान आयो, धेरैपटक राज्यको शासन व्यवस्था परिवर्तन भए । तर, देशको अवस्था परिवर्तन हुन सकेन । शिक्षा ऐन–नियम पनि समयसापेक्ष बन्न सकेनन् शिक्षामा सुधार ल्याउन सुझाव आयोगहरू पनि थुप्रै बने । शिक्षामन्त्रीहरू धेरै फेरिए । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले शिक्षामा आफ्नो अधिकार दाबी गर्दै आएका छन् । अझै स्पष्ट ऐन–नियम बन्न सकेको छैन । विद्यालय शिक्षा कुन नियम र कानुनअनुसार चल्ने हो, त्यसतर्फ संघीय सरकारले स्पष्ट खाका अझै तोक्न सकिरहेको छैन । यसैले गर्दा हाम्रो शिक्षा व्यवस्थाले समुचित बाटो पक्रन सकिरहेको छैन । अझै पनि हाम्रो शिक्षा क्षेत्र अन्योल र अलमलमै छ ।
2025 © Education Manch. All Rights Reserved.