कुश्मा (पर्वत) फागुन २५ गते । पर्वतमा बसाइसराईले तीव्रता लिई ग्रामीण क्षेत्र रित्तिदै जाँदा एसईई परीक्षा दिने विद्यार्थीको सङ्ख्या समेत बर्सेनी घट्दो छ । यस वर्षको एसइई परीक्षा २०८१ मा सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्ला वर्षहरू भन्दा घटेको छ ।
शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पर्वतका अनुसार यस वर्ष २०८१ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सङ्ख्या नियमित तर्फ एक हजार आठ सय १३ रहेको छ भने अघिल्लो वर्ष २०८० मा परीक्षार्थी सङ्ख्या नियमित तर्फ दुई हजार २८ थियो । एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या वर्ष २०७९ मा दुई हजार दुई सय ५३ लाई हेर्दा परीक्षार्थीको सङ्ख्या बर्सेनी घट्दो छ । परीक्षार्थी सङ्ख्या घटेसँगै २०७९ सालमा एसइई परीक्षा केन्द्र १९ वटा रहेकोमा २०८० मा घटाएर १७ वटा थिए । यस वर्ष एसइई परीक्षा केन्द्र घटाएर विभिन्न पालिकामा गरी जम्मा नौ वटा तोकिएको शिक्षा एकाइका प्रमुख मतिलाल चपाईले बताउनुभयो ।
जिल्लाको फलेवास नगरपालिका वडा ३ शङ्करपोखरीमा रहेको जनसहयोगी मा.वि.बाट यसपालीको एसइई परीक्षा दिने विद्यार्थीको सङ्ख्या जम्मा चार जना मात्रै रहेको छ । जनसहयोगी माविका प्रध्यानापक डिलीराम लामगादे भन्नुहुन्छ, ‘‘विद्यालयले पढाउन राम्रै मिहिनेत गरेको छ । युवा विदेश जाने र गाउँमा मानिसहरू बस्न छाडेपछि गाउँ रित्तो भएको छ । गाउँमा बसेकाले पनि विद्यालयको बालकक्षामा केही महिना पढाउने र केही पछि छोराछोरी पढाउन सहर लैजाने गरेका छन् ।’’
कुश्मा नगरपालिका ५ मा रहेको संस्थागत विद्यालय आदर्श उच्च माविका प्रिन्सिपल हिमबहादुर क्षेत्रीले विद्यार्थी सङ्ख्या बर्सेनी घट्नुमा बच्चा जन्मदर घट्दो, बसाइसराईसँगै विद्यार्थीले बिचमै ट्रान्सफर अन्यत्रको विद्यालयमा लैजानुलाई कारण बताउनुहुन्छ । प्रिन्सिपल क्षेत्रीले पहिले बाल कक्षामा भर्नादर ६० देखि ७० जना हुनेमा अहिले घटेर ३० देखि ४० जना विद्यार्थी मात्रै भर्ना हुने गरेको बताउनुभयो ।
फलेवास नगरपालिकास्थित खानीगाउँ ५ वडा तितीपानीमा रहेको ध्रुव नमूना माविमा जम्मा विद्यार्थीको सङ्ख्या ३८ जना छ । यस माविले यसपाली २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागीता जनाउन सकेको छैन । ध्रुव नमूना माविका प्रअ झलक पौडेल भन्नुहुन्छ,‘‘गाउँमा बस्ने मानिसहरू नै कम भएपछि विद्यार्थी पनि छैनन् । सबै बसाइ सरेर अन्यत्र लागेका छन् ।
केही वर्ष पहिले ६८ घरधुरी थिए । अहिले घटेर जम्मा ३२ घरधुरी छन् । ती घरमा बस्ने पनि धेरैजसो बुढाबुढी छन् । विद्यालयमा भए पनि अन्यत्र स्थानबाट आएका मजदुर, असहाय, दलितका छोराछोरी मात्रै छन् । स्थानीय सरकारले विद्यालयको अपनत्व लिएर व्यवस्थापनमा ध्यान नदिदा पनि विद्यार्थी घट्न पुगे ।’’
जिल्लामा ९१ वटा माध्यामिक विद्यालयहरू रहेका छन् । सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयबाट यसपाली जिल्लामै सबैभन्दा धेरै विद्यार्थी नियमित तर्फ ११९ जना एसइई परीक्षामा सहभागी हुँदैछन् ।
2025 © Education Manch. All Rights Reserved.