ताप्लेजुङ, फागुन २३ गते। हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष सामुदायिक विद्यालयका पाठ्यपुस्तक समयमै आउन थालेको छ। स्थानीय पुस्तक तथा स्टेसनरी व्यावसायीमार्फत सामुदायिक विद्यालयको पाठ्यपुस्तक जिल्लामा भित्र्याउन थालिएको हो।
नयाँ शैक्षिक सत्र सुरु हुनुलाई एक महिनाभन्दा बढी समय छँदै सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउन थालिएको हो। जिल्लामा नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासङ्घले पाठ्यपुस्तक ल्याउने गरेको छ। महासङ्घले यसवर्ष समयमै सामुदायिक विद्यालयका पाठ्यपुस्तकहरू ल्याउन थालेको हो।
महासङ्घका जिल्ला अध्यक्ष ज्ञानप्रसाद मिश्रका अनुसार हालसम्म कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक ल्याई सकिएको छ। अध्यक्ष मिश्रले कक्षा १ देखि ४ सम्मका एक हजार ५०० सेट र कक्षा ५ को एक हजार सेट पाठ्यपुस्तक आइसकेको जानकारी दिनुभयो। उक्त कक्षाहरूको अनिवार्य विषयसँगै आःनिपान (लिम्बू भाषा), अङ्ग्रेजी माध्यमको गणित लगायतका ऐच्छिक विषयसमेत आइसकेको उहाँले बताउनुभयो।
यस्तै कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पनि फागुन मसान्तभित्र ल्याइसक्ने तयारी गरिएको मिश्रले बताउनुभयो। बर्खायाम सुरु भइसक्दा पनि पाँचथरको हेवाखोलामा मोटरेवल पुल (मोटर गुड्ने पुल) बनाई नसकिएकाले पाठ्यपुस्तक ल्याउनलाई हतार गर्नुपरेको मिश्रको भनाइ छ। ढिलो गर्दा हेवाखोलामा बाढी आएर सडक अवरुद्ध हुन गई समयमा पाठ्यपुस्तक नआएर विद्यार्थीले पढ्न नपाउने अवस्था आउनसक्ने त्रासका कारण हतार गरेको उहाँले बताउनुभयो।
यता विगतका वर्षमा नयाँ शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै विद्यालय–विद्यालयमा पाठ्यपुस्तक पुर्याउने गरिएकोमा यसवर्ष अझ सहज भएको महासङ्घका उपाध्यक्ष केशवप्रसाद भट्टराईले बताउनुभयो। सडक अवरुद्ध हुनसक्ने त्रासकै कारण यस वर्ष महासङ्घले समयमै आर्थिक व्यवस्थापन गरी पाठ्यपुस्तक ल्याउन थालिएको भट्टराईले बतानुभयो।
नेपाल पुस्तक तथा स्टेसनरी व्यावसायी महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तक ल्याउने गरेको छ। ताप्लेजुङमा हाल ३३० वटा सामुदायिक विद्यालय रहेका छन्। शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार उक्त सङ्ख्यामध्ये ६४ वटा माध्यमिक तहका विद्यालय छन्। अन्य १–३, १–५ र १–८ कक्षा सञ्चालित आधारभूत तहका विद्यालय रहेका रहेका छन्। यस्तै सामुदायिक विद्यालयमा करिब २० हजार विद्यार्थी अध्ययनरत रहेका पनि शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ।
2025 © Education Manch. All Rights Reserved.