Breaking News
छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन मलाला पाकिस्तान आउने

इस्लामावाद, पुस २६ गते । नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफ्नो जन्मथलो पाकिस्तानमा आयोजना हुने छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन इस्लामावाद आउनुहुने भएको छ ।

युसुफजईलाई सन् २०१२ मा पाकिस्तानी तालिवानले गोली हानी हत्या गर्ने प्रयास गरेपछि विदेशमा जीवन बिताउँदै आउनुभएको छ । आक्रमणपछि पनि उहाँले पाकिस्तानी किशोरीहरूको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज बुलन्द गर्दै आउनुभएको छ तर पाकिस्तानको विरलै मात्र भ्रमण गर्ने गर्नुभएको छ ।

“म विश्वभरका मुस्लिम नेताहरूसँग छात्रा शिक्षासम्बन्धी महत्त्वपूर्ण सम्मेलनमा सामेल हुन पाउँदा उत्साहित छु,” उहाँले शुक्रबार एक्समा एक पोस्टमा लेख्नुभएको छ ।

“आइतबार म सबै बालिकालाई विद्यालय जान पाउने अधिकारको रक्षा गर्ने र तालिबानलाई अफगान महिला र बालिकाविरुद्ध गरेको अपराधका लागि किन जवाफदेही बनाउनुपर्छ भन्ने विषयमा सम्बोधन गर्नेछु,” उहाँले पोस्टमा लेख्नुभएको छ ।

मलाला फन्ड च्यारिटीका प्रवक्ताले उहाँ व्यक्तिगत रूपमा शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन् । मुस्लिम समुदायमा बालिका शिक्षामा केन्द्रित रहेर शनिबार र आइतबार राजधानी इस्लामावादमा दुई दिने शिखर सम्मेलन हुनेछ ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले उद्घाटन गर्ने समारोहमा ४४ देशका मन्त्री तथा राजदूतका साथै संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधि सहभागी हुनेछन् । यस शिखर सम्मेलनले मुस्लिम समुदायको शिक्षाको माध्यमबाट बालिकाहरूको सशक्तीकरणको साझा प्रतिबद्धतालाई पुष्टि गर्नेछ ।

सन् २०१२ मा अफगानिस्तानसँग सीमा जोडिएको स्वात उपत्यकामा पाकिस्तानी तालिबान लडाकूले विद्यालयको बसमा आक्रमण गरेपछि दिएको प्रतिक्रियापछि युसुफजाई चर्चामा आउनुभएको थियो । अफगान तालिबान र नेटो सेनाबिच सीमापार युद्ध चर्किरहेको समय पाकिस्तानी तालिबानको नेतृत्वमा यस क्षेत्रमा बर्बर आतङ्क फैलिएको थियो ।

हत्या प्रयासपछि उहाँलाई संयुक्त अधिराज्य (बेलायत)मा लगियो र बालिका शिक्षाको लागि विश्वव्यापीरूपमा आवाज उठाएका कारण १७ वर्षको उमेरमा सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार विजेता बन्नुभएको थियो । रासस/एएफपी


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.