Breaking News
एसईई प्रश्नपत्र आजबाट छपाइ सुरु

एसईई प्रश्नपत्र आजबाट छपाइ सुरु

फागुन, १ काठमाडौ। यस वर्षको एसईई परीक्षाको प्रश्नपत्रको छपाइ आज बिहीबारबाट शुरू भएको छ । करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्न लागिएको हो ।

गत वर्ष ५ लाख १६ हजार विद्यार्थी थिए, यो वर्ष गत वर्षभन्दा करिब १६ हजार कम अर्थात् करिब ५ लाख विद्यार्थीका लागि प्रश्नपत्र छपाइ गर्ने तयारी छ ।

प्रश्नपत्र छपाइ गर्न राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक नन्दलाल पौडेलसहितको टोली हिजो बुधबार सानोठिमीस्थित जनकशिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको छ । सो टोलीले करिब ३ हप्तामा प्रश्नपत्र छपाइ र ढुवानी गरी फर्किने कार्यक्रम छ । यो वर्ष करिब ५० लाख थान प्रश्नपत्र छापिँदै छ ।

७२ जना सुरक्षाकर्मीको तीन तहको सुरक्षा घेराभित्र प्रश्नपत्र छपाइ हुनेछ । त्यसमा २७ जना नेपाली सेना, १५ जना नेपाल प्रहरीको र ३० जना सशस्त्र प्रहरी बलको टोली परिचालन भएको छ । सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित छन् ।

केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्नेछन् । सुरक्षा व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले गरेको छ । प्रश्नपत्र छाप्न केन्द्रको सुरक्षण मुद्रणालयमा प्रवेश गरेको टोली प्रश्नपत्र छपाइ र ढुवानी नभएसम्म मुद्रणालयमै बस्ने व्यवस्था मिलाएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रश्नपत्र छपाइ गर्न सबै तयारी पूरा भएर परीक्षा नियन्त्रकसहित सबै सुरक्षा निकायका अधिकारी गोप्य रूपमा मुद्रणालयमा बसिसक्नुभएको बताउनुभयो ।

छाप्न सबै व्यवस्था केन्द्रले गर्नेछ । केन्द्रले कागज, मसी, मेसिन, औजार, उपकरण, छपाइ तथा प्याकिङ खामलगायत सबै सामान केन्द्रले व्यवस्था गर्नेछ । पनिकाले सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुनेछ । २५ दिनमा सक्ने गरी छपाइ शुरू भएको छ । छापेको प्रश्नपत्र सम्बन्धित केन्द्रमा पु¥याउनसमेत गरी करिब १ महिना लाग्नेछ । बोर्डले प्रदेशअनुसार फरकफरक सेटको प्रश्नपत्र छपाइ गर्ने जनाएको छ । बोर्डले फागुन मसान्तभित्र प्रश्नपत्र ढुवानी शुरू गर्नेछ ।

बोर्डले विद्यार्थी संख्याभन्दा करिब १० प्रतिशत बढी प्रश्नपत्र छपाउने छ । हरेक विषयको फरकफरक सेट प्रश्नपत्र छपाइ गर्नेछ । साधारण र प्राविधिक धारतर्फ गरी दुई प्रकारको परीक्षा हुनेछ । परीक्षामा साधारणतर्फ ६ र प्राविधिक धारतर्फ ६ अनिवार्य विषय छन् । बोर्डले प्रायः सबै विषयमा दुई सेट प्रश्नपत्र छाप्ने तयारी गरेको छ ।

ऐच्छिक पहिलोमा २४ र दोस्रोमा २३ विषय समावेश छन् । केन्द्रबाटै सबै जिल्लामा प्रश्नपत्र ढुवानी हुनेछ । शुरूमा दुर्गम त्यसपछि पहाड र अन्तिममा तराई तथा उपत्यकामा प्रश्नपत्र ढुवानी गर्ने तयारी भइरहेको जनाएको छ । यस वर्षको परीक्षा चैत ७ गतेबाट शुरू हुनेछ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । यस दिन गैर नेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङ्गलिस) को परीक्षा हुनेछ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ । परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

सुरक्षा समितिको बैठकले परीक्षालाई व्यवस्थित, मर्यादित र अनुसासित रूपमा सञ्चालन गर्न जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । गृहमन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले परीक्षामा कुनै समस्या आए राष्ट्रिय परीक्षा बोर्डले समन्वय गर्ने उल्लेख छ । ईश्वरराज ढकालले नेपाल समाचार पत्रमा समाचार लेखेका छन् ।


Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.