Breaking News
‘विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा’

‘विद्यार्थी पलायन रोक्न समयानुकूल शिक्षा’

सुर्खेत, फागुन २४ गते । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयहरूले समयानुकूल विषयलाई प्राथमिकता दिएर विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न सुझाव दिनुभएको छ । 

उहाँले बेरोजगार बढाउने शिक्षाको आवश्यकता छैन भन्दै सबै विश्वविद्यालयले प्रविधिमैत्री, खोज अनुसन्धानमूलक र विदेश पलायन हुनबाट रोक्ने विषय तथा कार्यव्रmमहरू सञ्चालन गर्न जोड दिनुभयो । शुक्रबार सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले उत्पादनमुखी र रोजगारीमूलक कार्यक्रमहरूको साथै आआफ्नो प्रदेश र क्षेत्र अनुसारको पढाइ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका नाममा लाखौँ विद्यार्थी र अर्बौंं पुँजी विदेश पलायन भएका छन्, अब मुलुकमा रहेका विश्वविद्यालयले समयानुकूल विषय र कार्यक्रमहरूका माध्यमबाट यसलाई रोक्नु पर्दछ ।” 

विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थी देशको सक्षम नागरिक भएकाले उनीहरूबाट देशले धेरै अपेक्षा गरेको उहाँको भनाइ छ । उहाँले नयाँ पिँढीलाई किताबी ज्ञानका साथै अब त्योभन्दा परको खोज अनुसन्धानमा लागी सामन्ती र सङ्कीर्ण सोच नराखी अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले मध्यपश्चिम विश्वविद्यालय आगामी शैक्षिक सत्रमार्फत विद्यार्थीको रोजाइको विश्वविद्यालय बन्दै जाने विश्वास पनि व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले शिक्षा भनेको डिग्री प्राप्त गर्नु मात्र होइन भन्दै जीवनलाई सही दिशा दिने मार्ग पनि भएकाले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्ने साझा जिम्मेवारी विश्वविद्यालयहरूको भएको जनाउनुभयो । उहाँले प्रविधिमैत्री शिक्षा, अनुसन्धानमा आधारित अध्ययन र नवीन उद्यमशीलताको अभिवृद्धि गर्दै देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध पनि भएको जिकिर गर्नुभयो ।

पेट्रोलियम खानी, जडीबुटी र धार्मिक तथा सभ्यताको स्थान रहेको कर्णाली प्रदेशको यस मध्यपश्चिम विश्वविद्यालयले कर्णालीको पहिचानलाई उज्यालो बनाउने जनशक्ति तयार पारेकोमा आफूलाई निकै खुसी लागेको उहाँले बताउनुभयो । साथै आगामी दिनमा यसको जनशक्तिले देश विकासमा हातेमालो गर्ने अपेक्षा आफूले गरेको उहाँको भनाइ छ । 

समारोहमा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका अग्रज प्राध्यापक महेन्द्र पी लामाले विश्वविद्यालयले देशको आवश्यकता पूरा गर्ने जनशक्तिहरू तयार पार्ने हुँदा मध्यपश्चिम विश्वविद्यालयले पनि देशको आवश्यकता पूरा गर्ने जनशक्ति तयार पारेको उल्लेख गर्नुभयो । उहाँले समयको माग अनुसारका विषय, खोज र अनुसन्धान हुनुपर्ने सुझावसमेत दिनुभयो । 

यस्तै विश्वविद्यालयका उपकूलपति प्राडा धु्रवकुमार गौतमले कर्णाली प्रदेशको समग्र आर्थिक, सामाजिक, प्राकृतिक अवस्थालाई मध्यनजर गर्दै समयसापेक्षा शिक्षा प्रदान गरेको बताउनुभयो । 

उहाँले शिक्षाको बजारमा प्रतिस्पर्धी जनशक्ति तयार पारेको दाबी गर्दै उच्च शिक्षालाई आत्मनिर्भर बनाउने प्रयास गरिएको उल्लेख गर्नुभयो । साथै उहाँले आगामी दिनमा शिक्षालाई रैथाने ज्ञान, सिप र व्यवहारसँग जोड्दै उत्पादनमुखी बनाइने पनि उल्लेख गर्नुभयो । 

विश्वविद्यालयबाट विभिन्न सङ्कायका स्नातक तहका दुई हजार १८९ जना, स्नातकोत्तर तहका एक हजार ६३३ जना र दर्शनाचार्य शोधकार्य गरेका १९ जना गरी कुल तीन हजार ८४१ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा ८८५ जना विद्यार्थी सहभागी थिए । 

सो अवसरमा कुलपति पदकबाट गृष्मा पिया, मोनिका सैँजु र श्रवणकुमार महतारा सम्मानित हुनुभएको छ भने उपकुलपति पदकबाट स्वस्तिका गोदाल, पूर्णिमा आचार्य र अनु अर्याल सम्मानित हुनुभएको छ । २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल १० हजार ३८२ जना विद्यार्थी अध्ययनरत छन् भने ३३८ जना प्राध्यापक र २०८ जना कर्मचारी कार्यरत छन् । 

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.