Breaking News
शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल

शिक्षक आन्दोलन : सामुदायिक विद्यालयलाई विद्यार्थी जोगाउनै मुस्किल

विराटनगर, वैशाख ११ गते । ‘मामु मलाई दिनभरि घरमा बस्न अल्छी लाग्छ, स्कुल जान्छु’ विराटनगर ४ प्रगति टोलकी १० वर्षे नायरा पोखरेलको आग्रह सुनेर आमा सविना अलमलमा पर्नुभयो । कक्षा तीन उतीर्ण गरेर चार कक्षामा पुगेकी छोरीलाई निजी स्कुलमा लैजाने कि त्यहिँ राख्ने भन्ने द्विविधा उहाँमा देखिएको छ । ‘बाबु बोर्डिङमा पढ्छ, नानीलाई पनि पोहोर मात्र बोर्डिङबाट झिकेर सरकारीमा पठाएँ, पढाई राम्रो छ, तर आन्दोलनले गर्दा के गर्नु नगर्नु भएँ,’ सविनाले भन्नुभयो ।

छोरा पढ्ने बोर्डिङ स्कुलका शिक्षकहरु घरमै आएर छोरीलाई बोर्डिङमै फिर्ता ल्याइदिन आग्रह गरिरहेको उहाँले बताउनुभयो । ‘सरहरु आउनुभएको थियो, छोरीको पैसा तिर्नुपर्दैन पठाइदिनु भन्नुभयो । तर सरकारी स्कुलमा पनि पढाइ राम्रो छ त्यसैले निर्णय गर्न सकेकी छैन, अरु केही दिन पर्खन्छु,’’ पोखरेलले भन्नुभयो ।

नायरा पढ्ने विराटनगर ३ को सहिद आधारभूत विद्यालयले वैशाख ९ गतेबाट पठनपाठन सुरु हुने जानकारी दिएको थियो । तर शिक्षक आन्दोलन लम्बिएका कारण चाहेर पनि विद्यालय चलाउन सक्ने वातावरण भएन । अभिभावकहरुले दिनहुँ विद्यालय चलाइदिनु पर्‍यो भनेर दबाब दिइरहेको शिक्षकहरुले बताएका छन् । ‘‘अभिभावकको दबाबभन्दा पनि हाम्रै मन पोलिरहेको छ, कमसेकम विद्यार्थी भर्ना गर्न पाए हुन्थ्यो, विद्यालयप्रति राम्रो आकर्षण बढ्दै थियो, यस्तो बेलामा नयाँ विद्यार्थी ल्याउन सकिँदैन कि भन्ने चिन्ता भएको छ,’’ विद्यालयका प्रधानाध्यापक गिता सापकोटाले भन्नुभयो । नयाँ विद्यार्थी नपाउँने मात्र होइन भएका विद्यार्थी पनि बोर्डिङ स्कुलतिर जान्छन् कि भन्ने अर्को चिन्ताले सामुदायिक विद्यालयका शिक्षकहरुलाई सताएको छ । त्यसैले सहिद आधारभूत विद्यालयका शिक्षकहरुले हरेक अभिभावकलाई फोन गरेर घरमा बच्चा हेर्ने र राख्ने समस्या भए विद्यालयमै ल्याइदिन आग्रह गरिरहेको सापकोटाले जानकारी दिनुभयो । विद्यालयमा आउने विद्यार्थीहरुलाई सँगै राखेर खेलाउने र पढाउने गरिरहेको उहाँले बताउनुभयो ।

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा गतवर्ष १२९ जना विद्यार्थीहरु थिए । नेपाली र अंग्रेजी दुवै माध्यममा पढाई हुने उक्त विद्यालयमा पछिल्लो समयमा स्थानीय अभिभावकहरु आकर्षित भइरहेका छन् । त्यसैले यस वर्ष थप १०० जना विद्यार्थी भर्ना गर्ने योजना विद्यालयले बनाएको थियो । तर शिक्षक आन्दोलनले नयाँ विद्यार्थी ल्याउने योजना असफल हुने मात्र होइन भएका विद्यार्थीलाई पनि विद्यालयमा अड्याउने चुनौती थपिएको सापकोटाले बताउनुभयो । उहाँले ‘‘केही विद्यार्थी बोर्डिङ स्कुलतिर गइसकेको सूचना पाएका छौं, तर यति छिट्टै अभिभावकहरु नआत्तिदाँ हुन्थ्यो, आन्दोलन लम्बिने नै भयो भने अब आइतबारबाट स्कुल खोल्छौं होला, नत्र विद्यार्थी जोगाउन सकिँदैन,’’ भन्नुभयो ।

विराटनगर २ स्थित जनता माध्यामिक विद्यालय पनि नयाँ विद्यार्थी भर्ना कसरी गर्ने भन्ने चिन्तामा परेको छ । विद्यालयका प्रधानाध्यापक चिन्तामणि रिजालले भन्नुभयो ‘‘विद्यालयका लागि यो बिउ रोप्ने समय हो, बिउ नै नरोपेपछि फलको कसरी आशा गर्नु ?’’

जनता माध्यामिक विद्यालय लामो समय जीर्ण अवस्थाबाट सञ्चालन भएर दुई वर्षयता सुधारोन्मुख हुँदै गएको स्कुल हो । १५० जना विद्यार्थी भएको उक्त स्कुलले पठनपाठन र व्यवस्थापनमा सुधार गरेपछि विद्यार्थी सङ्ख्या बढेर गतवर्ष ६६५ जना पुगेको थियो । ‘‘यस वर्ष तीन जना नयाँ विद्यार्थी थप्ने योजना बनाएका थियौं तर, शिक्षक महासंघको आन्दोलनले पुराना विद्यार्थी जोगाउनै नसकिएला कि भन्ने लाग्न थालेको छ,’’ उहाँले भन्नुभयो । आन्दोलन अरु हप्ता दिन चलेर स्कुल खुल्ने अवस्था भएन भने विद्यार्थी निजीतिर जाने बढी खतरा हुने रिजालले बताउनुभयो ।

विराटनगरको ३ को पोखरिया माध्यामिक विद्यालयले शिक्षक महासंघको आग्रह नमानेरै भएपनि विद्यार्थीहरुको प्रवेश परीक्षा लिइसकेको छ । उक्त विद्यालयमा विद्यार्थी पढाउन सोर्स नै लगाउनु पर्ने अवस्था विराटनगरमा भएका कारणले पनि विद्यार्थी र अभिभावकहरुको विश्वास जोगाउन विद्यालयले प्रवेश परीक्षा सञ्चालन गरेको थियो । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले भन्नुभयो ‘हामीले प्रवेश परीक्षा गरायाँै, तर विद्यार्थी भर्ना गर्न सकिएको छैन, प्रवेश परीक्षा गराएको हुँनाले विद्यार्थी अन्यत्र गइनहाल्लान् भन्ने आशा रहेको उहाँको भनाइ छ । उक्त विद्यालयमा करिव चार हजार विद्यार्थी अध्ययनरत छन् । 

मोरङको बुढीगंगा गाउँपालिकास्थित मोरङ पब्लिक स्कुलका सञ्चालक विवेक ढकालले अहिलेसम्म सामुदायिक विद्यालयबाट निजीमा धेरै विद्यार्थी नआएको तर अब १५ दिन आन्दोलन जारी भएमा चाहिँ विद्यार्थी सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले केही केही विद्यालयहरुमा भने सामुदायिकबाट संस्थागत विद्यालयमा विद्यार्थीहरु आइरहेको जानकारी दिनुभयो ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.