Breaking News
व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु

व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु

तनहुँ, माघ २४ गते । तनहुँको व्यास नगरपालिकामा मगर भाषामा पढाइ सुरु भएको छ । व्यास नगरपालिकाले कक्षा सञ्चालनका लागि मद्दत गरेपछि  वडा नं. १४ मा रहेको केशवटार माध्यमिक विद्यालयमा मगर भाषाको अक्खा लिपिको पढाइ सुरु भएको हो ।

व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले मगर भाषा कक्षाको उद्घाटन गर्नुभयो । उहाँले स्थानीय पाठ्यक्रम निर्माण गर्ने आधिकारिक प्रयोजन भएपछि व्यास नगरपालिकाले पाठ्यक्रम निर्माण गरेको बताउँदै यस्ता खालका पाठ्यक्रमलाई नगरपालिकाको तर्फबाट कार्यपालिकाबाट पारित गरेर अगाडि बढाइएको बताउनुभयो । अक्खा लिपिको पठनपाठनसँगै, हराउँदै जान थालेको मगर संस्कार, परम्परा, रीतिरिवाज र संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   

भाषा र संस्कृति संरक्षण गर्ने दायित्व नगरपालिकाको रहेको बताउँदै  गुरुकुल, मदर्सा, मगर, गुरुङलगायतका भाषालाई संरक्षणमा अपनत्व लिएको बताउनुभयो । व्यास नगरपालिकाका प्रथम प्रमुख ताराप्रसाद श्रेष्ठले सबै भाषा, संस्कार र संस्कृतिको संरक्षणमा लाग्नुपर्ने उल्लेख गर्नुभयाे । व्यास नगर शिक्षा अधिकारी केदारनाथ आचार्यले नेपालको संविधानमा मातृभाषाबाट पठनपाठन गर्न पाउने संवैधानिक व्यवस्था भएकाले स्थानीय पाठ्यक्रम अन्तर्गत पठनपाठन थालिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल मगर सङ्घ पूर्व केन्द्रीय उपाध्यक्ष मन्दरी आले मगर, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका सचिव नन्दु थापा मगर, सामुदायिक विद्यालय महासङ्घ तनहुँका अध्यक्ष विष्णुभक्त न्यौपाने, आदिकवि भानुभक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, विद्यालयका प्रधान अध्यापक भरतबहादुर विष्ट, व्यास नगरपालिका शिक्षा समितिका सदस्य यामबहादुर आले, समन्वय परिषद्का अध्यक्ष सोमबहादुर थापालगायतले ९० प्रतिशतभन्दा बढी विद्यार्थी मगर रहेको यस विद्यालयमा अक्खा लिपिको पढाइ हुनु राम्रो काम भएको उल्लेख गर्दै मगर भाषा, संस्कार र संस्कृति संरक्षणमा यसले टेवा पुग्ने बताउनुभयो ।

अहिले कक्षा १ मा पाठ्यपुस्तक निर्माण गरी पठनपाठन सुरु गरिएकोमा अब क्रमशः कक्षा ८ सम्म पढाइने  विद्यालये जनाएको छ । नेपाल मगर सङ्घ व्यास नगर समितिको आयोजना एवं व्यास नगरपालिकाको समन्वयमा  कार्यक्रम सम्पन्न भएको थियो । व्यास नगरपालिकाको सहयोग र नेपाल  मगर सङ्घ व्यास नगर समितिको समन्वयमा कक्षा सुरु गरिएको हो । त्यस अगाडि मगर भाषाको पढाइ सञ्चालन गर्न शिक्षकहरूलाई पाँचदिने तालिम प्रदान गरिएको नेपाल मगर सङ्घ व्यास नगर समिति अध्यक्ष रिमा आलेले बताउनुभयो । पहिलो पटक  केशवटार माध्यमिक विद्यालयमा मगर भाषा अक्खालिपि ९कक्षा १–८० को पाठ्यपुस्तक निर्माण गरी कक्षा सञ्चालन भएको अध्यक्ष आलेले जानकारी दिनुभयो ।

मगर भाषा संरक्षणको लागि व्यास नगरपालिकाले मगर समुदायको बाहुल्य रहेको विद्यालयमा मगर भाषाको पाठ्यक्रम अनुसार पढाइ सञ्चालन गरेको आलेले बताउनुभयो  । तालिम लिएका शिक्षकले विद्यालयमा मगरभाषाको पाठ्यक्रम अनुसारको कक्षा सञ्चालन गर्ने छन् । 

नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिद्धान्त थापा मगरले भाषा संरक्षणको लागि व्यास नगरपालिकाले चालेको कदम प्रशंसनीय भएको बताउनुभयाे । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउन लागेकोले यस्ता तालिमले भाषा संरक्षण गर्ने अभिभानलाई टेवा पुग्ने विश्वास मगरले व्यक्त गर्नुभयो ।

Ram Chandra Ghimire Ram Chandra Ghimire
12345 0

0 Comments

Leave a comment

Latest Similar News

Education Manch

Putalisadak-28, Kathmandu

+9779851240694

info@edumanch.com

Follow Us
Quick Links
Quick Links
Quick Links

2025 © Education Manch. All Rights Reserved.